काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको बहुदलीय जनवादको वैचारिक विरासतले हामीलाई अझै पनि निरन्तर अगाडि बढ्न, विचलित नभई जनताको पक्षमा उभिन, र परिवर्तनको यात्रालाई अधुरो हुन नदिन प्रेरित गरिरहेको बताएका छन । एमालेका बैचारिक नेता मदन भण्डारीको स्मृति दिवसको अवसरमा सन्देश दिंदै ओलीले भनेका छ्न : मदन भण्डारी – जीवराज आश्रित, अनि यस आन्दोलनले जन्माएका कयौं अग्रज र योद्धाहरू आज हामीमाझ शारीरिक रूपमा हुनुहुन्न। तर विचार र योगदान हाम्रो राजनीतिक यात्रामा दीपस्तम्भझैँ छन्।
ओलीको सन्देश यस्तो छ :
आज मदन – आश्रितको ३३ औं स्मृति दिवस। ३३ वर्ष अगाडि दासढुंगामा भएको रहस्यमय घटनामा हामीले श्रद्धेय जननेता मदन भण्डारी र जीवराज आश्रितलाई गुमायौं।
घाउहरु पुराना भए पनि समय बित्दै जाँदा तिनको दुखाइका स्मृति झन् गाढा हुँदारहेछन्, अभावहरू झन् गहिरिँदारहेछन्। जननेता मदन भण्डारी मेरो नेता, साथी, सहयोद्धा – सबै हुनुहुन्थ्यो। जीवराज आश्रित कुशल संगठक हुनुहुन्थ्यो। मदन भण्डारी हाम्रो आन्दोलनलाई नयाँ वैचारिक भाष्य दिने जनताको बहुदलीय जनवाद निर्माणका अगुवा हुनुहुन्थ्यो। त्यस दौरानमा उहाँको विश्वास र अभिन्न निकटतामा रहेर काम गरेको सम्झना भइरहेको छ। जनताको बहुदलीय जनवाद, जसले विचारलाई युग अनुरूपको मौलिक परिष्कार दियो, आन्दोलनलाई बलियो आवाज दियो र परिवर्तनको सपनालाई जनताको जीवनमा पुर्याउने मार्गचित्र दियो। त्यसलाई हामीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानका रूपमा अघि बढायौं। पछिल्लो दशकमा हाम्रो त्यस अभियानले मानवीय र भौतिक पूर्वाधारको विकासमा परिवर्तन पनि ल्याउन थालेको थियो।
मदन भण्डारी – जीवराज आश्रित, अनि यस आन्दोलनले जन्माएका कयौं अग्रज र योद्धाहरू आज हामीमाझ शारीरिक रूपमा हुनुहुन्न। तर विचार र योगदान हाम्रो राजनीतिक यात्रामा दीपस्तम्भझैँ छन्। जनताको बहुदलीय जनवाद एक सिजनको लोकप्रियता आर्जन गर्ने औजार होइन, यथार्थको धरातलमा टेकेर उभिएको विचार हो।
मदनलाई सम्झँदा केवल एउटा नेता वा मित्र गुमाएको पीडा मात्र होइन, एउटा युगद्रष्टा सहयोद्धा गुमाएको अनुभूति हुन्छ। जनताको बहुदलीय जनवादको वैचारिक विरासतले हामीलाई अझै पनि निरन्तर अगाडि बढ्न, विचलित नभई जनताको पक्षमा उभिन, र परिवर्तनको यात्रालाई अधुरो हुन नदिन प्रेरित गरिरहेकै छ।
प्रिय मदन- आश्रित, हार्दिक श्रद्धाञ्जली, उच्च सम्मान !
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
