अन्तरपार्टी प्रतिस्पर्धामा नेका नेता डा. शेखर कोईरालाको बिरोध यात्रा यता छलांगमा बदलिएको छ। खासगरी पार्टी सभापति शेरबहादुर देउवा र गठबन्धनका प्रधानमंत्री केपी ओलीका प्रति उहाँको प्रहार तीक्ष्ण हुदै गएको छ। यसले मेरो मन मनमा केही जिज्ञासाहरू उत्पन्न भएको छ। तर, पहिले यस यथार्थलाई स्मरण गरौं कि नेपाली काँग्रेस बस्तुतः सत्तासंग नजिक रहने पार्टी हो। बिस ०७ ताका गोरखा दलका एकाध अपवादका कुरालाई नजर अन्दाज गर्ने हो भने राणा-काँग्रेस संयुक्त सरकारबाट बिपी कोईराला बहिरिनुको सर्वाधिक मुख्य कारण सत्ताको संचालनमा निर्बाध सुबिधाको उपयोग गर्न नपाउनु एक मुख्य कारण हो। यसरी नै पछिल्लो समय अर्थात बिस २०५१ पश्चातको संसदमा कुनै एक दलको बहुमत नरहेको अवस्थाको अस्थिरतामा नेपाली काँग्रेसको भुमिकाबाट पनि सत्ता र काँग्रेसको प्रेम बुझ्न सकिन्छ। डा. शेखर कोईरालाले यसलाई अनदेखा गर्ने कुनै आधार छैन। ल अब अगाडी बढौं,
१. संसदमा नेपाली काँग्रेसको संख्यात्मक स्थितिले एक्लो नेकाको सरकार बन्ने कुनै संभावना छैन। कुनै पनि हालतमा। यदि, नेका सत्तामा रहनु छ भने प्रष्टतः बिकल्पहरू छन्ः
क) माओवादी र नेकाको गठबन्धन सरकार बनोस। यसको नेतृत्व माओवादीले गरोस् वा नेकाले। यस्तो भै सकेको छ। माओवादीले नेकाको नेतृत्व मानेन। माओवादीको नेतृत्वमा नेका सहज रहेन। यसमा भारत/चीनको ईच्छाले पनि उतिकै प्रभाव पारेको हो।
ख) माओवादी वा एमालेको नेतृत्वमा सरकार बनोस्। यस्तो सरकार बनेकै हो। यस अवस्थामा नेकाको भुमिका प्रतिपक्षको हो, जुन नेकाका लागि सह्य रहेन र अन्ततः नेका तेस गठबन्धनमा बिभाजनको लोभीपापी खेल खेल्नबाट आफुलाई राजनीतिक ब्रम्हचर्यको अनुशासनमा बाध्न सकेन।
ग) अब, एमाले र नेकाको गठबन्धन। जुन अहिले कायम छ, चल्दैछ। सरकारको नेतृत्व अहिले एमालेसंग छ, प्रम ओलीको अद्यावधि भनाई अनुसार केहीपछि नेका सभापतिमा नेतृत्व जानेछ। नेपाली काँग्रेस भित्र सरकारको नेतृत्व यही संसदमा वा पार्टीको यही अवस्थामा डा. शेखर कोईरालाकोमा जाने कहीं कतै कुनै संभावना देखिन्न।
यस सन्दर्भमा मेरो जिज्ञासा छ-डा. शेखर के चाहनु हुन्छ? उहाँको कित्ता के हो? के उहाँ नेकाको भुमिका निरपेक्ष प्रतिपक्षको रहोस् भन्ने चाहेको हो भने न त उहाँले यो बुझिने गरि भन्न सक्नु भएको छ। न त सरकारमा आफ्ना मानिसहरूलाई न पठाएर व्यवहारतः उहाँले देखाउन सक्नु भएको छ।
यदि उहाँले सरकारमा नेतृत्व एमालेको र हैकम वा हालिमुहाली काँग्रेसको खोज्नु भएको हो भने यो किमार्थ पनि संभव छैन। स्वयं उहाँको काँग्रेसले पनि आफ्नो पालोपैचोमा यसो हुन दिने छैन। यो अभ्यास पुरानै हो।
वामपंथीसंग सत्ता सहकार्यका बारेमा डा. शेखरको बिचार स्थिर देखिएन। माओवादी नेतृत्वको बेला माओवादीको काँधमा बन्दुक राखेर नेका उपर प्रहार, एमाले नेतृत्वको बेला तिनको आलोचना गरेर देउवालाई तारो बनाउन खोज्ने जस्तो देखियो। फेरी केन्द्रमा एमालेको बिरोध र प्रदेशमा उनै एमालेको सहयोगमा आफ्ना सहकर्मीको सरकार बनाउने जस्तो बिरोधाभाष पनि देखिए कै हो।
२. भ्रष्टाचारका बारेमा डा. साहेबको बिचारमा पनि अलमल देखिन्छ। व्यक्तिहरूका आधारमा कमानबाट बाण तान्ने शक्तिको फरक फरक प्रयोग गर्ने गरिएको बुझिन्छ। पूर्व गृहमंत्री बालकृष्ण खाणको प्रकरणमा शुरूमा डा. शेखर मौन देखिनु भयो। जब पार्टी सभापति देउवाले खाणलाई जोगाउनु भएन, स्वयं खाणको भाषा देउवाका खिलाफमा देखिईन थाल्यो, बालकृष्णसंग डा. शेखरको सम्पर्क बढदै गयो। आज भोली बालकृष्ण डा. शेखरसंगै रहेको सुनिन्छ। हालै मुद्दामा परेका अर्का एक प्रमुख नेता पूर्व संचारमंत्री मोहनबहादुर बस्नेत यस अधि देउवासंग थिए। उनको पनि देउवासंग दुरी बढदै गयो। अहिले उनि उपर भ्रष्टाचारको मुद्दा लागेपछि डा. शेखरको कुनै प्रतिकृया देखिएको छैन। वर्तमान गृहमंत्री रमेश लेखकका बारेमा डा. शेखरको प्रतिकृया बडो कठोर रूपमा आएको छ। यसबाट स्वयंको पार्टी भित्र शेखर कोईराला बिवादमा तानिनु भएको छ। गंभीर रूपमा उहाँले गृहमंत्रीको राजिनामाको मांग गर्नु भएको छ भने आफु उपर पार्टीबाट आउन सक्ने स्पष्टिकरणको मांगलाई पंछाउनु पर्ने दायित्वमा पर्नु भएको छ। यस सवालमा डा. शेखरको अडान बाहिर लोकप्रिय देखिएपनि पार्टी भित्र उहाँको पक्ष निकै कमजोर छ।
अनि यसलाई पनि जोडेर हेरौं-अहिले गृहमंत्री रमेश लेखकको मानव तस्करी तथा इमिग्रेशन प्रकरणमा जुन तह तथा जस्तो सदृश्य तथ्यहरूको आधारमा संलग्नता देखिन्छ, शेरबहाहादुर जी की पत्नी तथा परराष्ट्र मंत्री आरजु राणा देउवाको नाम मुछिएको बालकृष्ण खाण बाला मुद्दा के कति फरक तथ्यहरू थियो र? अहिले रमेश लेखकको संलग्नताको जस्तो बलियो मसिनो आधारहरू चर्चामा आएको छ यसभन्दा आरजु म्याडमको तेस मुद्दामा संलग्नताका आधार के कम थियो र? यसमा डा. साहेबले देउवालाई पछार्न अपेक्षाकृत कमजोर मानिस लेखकलाई ठुलो अचानोमा लडाउन रणनीतिक रूपमा ठिक ठान्नु भयो।
पार्टी सभापति देउवाका बिपक्षमा डा. शेखर यौटा भरपर्दो बिकल्प हो। अनेक दृष्टिकोणबाट अपेक्षित बिकल्प हो। यस निम्ति उपयुक्त बातावरण बनाउने दायित्व उहाँ कै हो। आफ्नो पक्षलाई पहिरो जानबाट रोकेर थप शक्तिको आर्जन तथा सुरक्षणको रणनीति तर्जुमा गर्नु उहाँको बुद्धिमानी हुनेछ। यद्यपि यस निम्ति केही लेख्नु मेरो काम तथा उद्देश्य होईन। मैले त यति नै भन्न चाहेको हुँ कि यता तिर, हालसाल डा. शेखरका कुराहरू सुन्दा बढी ‘गनगन’ हुन लागेको हो कि ? सरकारका बारे सधैं गनगन, माओवादीका बारे पनि एमालेका बारे पनि। सरकारपनि चाहिने गनगन पनि गरिराख्ने! कर्णप्रिय भएन कि डा. साहेब !
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
