मकवानपुरको राक्सिराङ्ग गाँउपालिकाको वडा नं १, २ र ३ का जनताले खानेपानीको सुविधा प्राप्त गर्ने भएका छन् । बुधबार राक्सिराङ्ग– २, भाटीमा ‘भाटी थुम्कीको लिफ्टिङ्ग प्रणाली’को शुभारम्भ गरिएको छ । भाटी थुम्की स्कीम नं २ खानेपानी योजना उपभोक्ता समितिले आयोजना गरेको कार्यक्रममा बागमती प्रदेश सरकार खानेपानी, उर्जा तथा सिँचाई मन्त्रालयका मन्त्री श्याम बहादुर खड्काले रिबन काट्नुका साथै खानेपानीको धारा खोलेर उद्घाटन गर्नुभएको हो ।
खानेपानीको उद्घाटन पश्चात् खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष रुद्र बहादुर पिठाकोठीको सभाध्यक्षतामा आयोजित एक औपचारिक कार्यक्रममा बागमती प्रदेश सरकार खानेपानी, उर्जा तथा सिँचाई मन्त्रालयका माननीय मन्त्री श्याम बहादुर खड्का ज प्रमुख आतिथ्यता, खानेपानी, उर्जा तथा सिँचाई मन्त्रालयका प्रमुख सचिव मोहन कुमार शाक्यको
विशेष आतिथ्यता र अतिथीहरुमा राक्सीराङ्ग गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल ज्यू, माननीय मन्त्री श्याम बहादुर खड्काका राजनितिक सल्लाहकार राजेन्द्र श्रेष्ठ , खानेपानी कार्यालयका डिभिजन प्रमुख रविन श्रेष्ठ , राक्सिराङ्ग गाँउपालिका उपाध्यक्ष बनस्तम थिङ ज्यू, इन्जिनियरद्धय सुस्मिता लामिछाने र अस्विन पौडेल , राक्सिराङ्ग गाँउपालिका वडा नं २ अध्यक्ष बुद्धराम मोक्तान ज्यू लगायत उपभोक्ताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै बागमती प्रदेश सरकार खानेपानी, उर्जा तथा सिँचाई मन्त्रालयका मन्त्री श्याम बहादुर खड्काज्ले स्थानीय सरकार जनताको सम्पूर्ण आवश्यकता पुरा गर्न लागिपरेको बताउँदै विकास आवश्यकताका आधारमा प्राथमिकिकरण गर्दै लैजाँदा सहज हुने बताउनुभयो ।
“खानेपानी जनताको मौलिक अधिकार हो र सन् २०३० सम्म बागमती प्रदेशका सबै जिल्लामा शत्प्रतिशत पानी पु¥याउने लक्ष्य लिएका छौँ ।”, माननीय मन्त्रीले भन्नुभयो, “सरकारले पानी व्यवस्था गरिदिन्छ तर त्यसको सम्भार जनताले पनि गर्नुपर्छ ।” आफूले पाएको सुविधाहरुलाई दिगो बनाउनका निमित्त जनताले पनि हातेमालो गर्नुपर्ने उहाँको भनाई थियो ।
खानेपानी मानव जीवनको अत्यावश्यक आवश्यकता हो तर नेपालका धेरै ग्रामीण क्षेत्रका जनताहरु अझै पनि खानेपानीको पहुँचबाट टाढा छन् । नेपालमा खानेपानी सम्बन्धी अधिकार दिगो विकास लक्ष्य र संविधान दुवैमा प्राथमिकतामा राखिएको छ तर ग्रामीण र दुर्गम क्षेत्रका नागरिकहरुलाई अझै पनि खानेपानी सहज रुपले पु¥याउन भने सकिएको छैन । तथापी स्थानिय सरकार जनताका आधारभुत आवश्यकता पुरा गर्न प्रयासरत छ ।
पुस्तौँ देखी खानेपानीको विकराल समस्या भोग्दै आएका राक्सिराङ्गबासीको अनुहारमा पनि धारामा पानी आउँदाको खुशी बेग्लै देखिन्थ्यो । विकट भौगोलिक बनावटका कारण र मुहान लगायत विद्युतीय समस्याले पनि आयोजना छिट्टै पुरा गर्न नसकिएको प्राविधिकहरुको भनाई रहेको थियो ।
सो कार्यक्रममा राक्सिराङ्ग विशेष खानेपानी योजना अन्तर्गत स्किम नं २ को शुभारम्भ भएको हो । जसअन्र्तगत ३ वटा ट्याङ्की, पम्प हाउस र कार्यालय रहेको ३ वटा भवन रहेको छ भने विद्युतीय कार्यअन्तर्गत लिफ्टिङ कार्य सफलतापूर्वक सम्पन्न भएको छ । साँढे ४ करोड लागत अनुमान गरिएको योजना हालसम्म सम्पन्न हुँदा झण्डै ३ करोड खर्च भएको छ । योजना अन्तर्गत आशिंक रुपमा बाँकी रहेका अन्य कामहरु प्रभावकारी ढङ्गबाट बिस्तारै गरिने बताईएको छ ।
हाल पानी वितरण कार्य शुरु हुँदा १०० वटा धारा वितरण गरिएको छ भने यसबाट राक्सीराङ्ग गाउँपालीकाका सानोभावर, गडुवान, भाटी, थुम्की, गैरीगाउँ, गहुँबारी, केराबारी, सरकारी लगायत गाउँका लगभग ६५० घरधुरी लाभान्वित हुनेछन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
