Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौंको वसन्तपुरमा १२ औं नेपाली टोपी दिवस मनाइयो


  • बुधबार, पुष १७ २०८१

  • काठमाडौंको वसन्तपुरमा १२ औं नेपाली टोपी दिवस मनाइयो

    काठमाडौं- जागरुक युवा अभियान नेपालले १२ औं अन्तर्राष्टिय नेपाली टोपी दिवस भव्यताका साथ मनाएको छ । अभियन्ताहरुले ‘सबै पोशाकको सम्मान, नेपाली टोपी नेपालको पहिचान’ भन्ने नारासहित बुधवार काठमाडौंको बसन्तपुरमा भेला भएर शुभकामना आदानप्रदान गर्दै नेपाली टोपी दिवस मनाएका हुन् ।

    कार्यक्रमलाई सम्वोधन गर्दै अभियानका संयोजक घनश्याम श्रेष्ठले नेपाली टोपीको संरक्षण र प्रवर्द्धन गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरेको बताए । उनले १२ वर्षअघि कठिनताका साथ सुरुवात गरिएको कार्यक्रम अहिले देश विदेशभर फैलिएको भन्दै खुसी व्यक्त गरे । श्रेष्ठले नेपाली टोपी अभियान कुनै पनि अभियानको विरोधमा नरहेको भन्दै केही तत्वहरुले विवादित बनाउने कोसिस भइरहेको बताए । विगतदेखि नै नेपालीलाई चिनाउँदै आएको ढाकाटोपी र भादगाउँले कालोटोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न पनि संयोजक श्रेष्ठले सरकारसँग जोडदार माग गरे ।

    अर्का अभियन्ता रामजी बलामीले नेपाली टोपी विश्व समुदाय माझ परिचित रहेकाले नेपालको पहिचान पनि भएको बताए । बलामीले सबै सांस्कृतिक पोशाकको प्रवद्र्धन गर्नुपर्ने भन्दै नेपाली टोपीको थप प्रवद्र्धनका लागि सरकारले पहल गर्नुपर्ने बताए ।

    अर्का अभियन्ता जनार्जन पौडेलले नेपाली टोपीले हिमाल, पहाड र तराईको प्रतिनिधित्व गर्ने भएकाले यो सबै नेपालीको साझा चिनारी भएको बताए । पौडेलले अंग्रेजी नयाँ वर्षलाई नेपालीपन दिन सो दिन अन्तर्राष्टिय टोपी दिवस मनाउन थालिएको बताए ।

    यस्तै अर्का अभियन्ता ज्ञानमणि नेपाल कालोटोपीले टोपी लगाउने र नलगाउने व्यक्तिगत स्वतन्त्रताको कुरा भएको उल्लेख गर्दै नेपाली उत्पादनको प्रवद्र्धन गर्नु सबै नागरिकको दायित्व भएको बताए ।

    कार्यक्रममा बालकदेखि बृद्धसम्म र युवायुवतीहरुको बाक्लो उपस्थिति थियो । जागरुक युवा अभियान नेपालले नेपाली टोपीको संरक्षण र प्रवद्र्धनका लागि भन्दै हरेक वर्ष जनवरी १ तारिखका दिन अन्तर्राष्टिय नेपाली टोपी दिवस मनाउदै आएको छ ।

    नेपाली शब्दकोषमा शिर छोप्ने, शिरको शोभा बढाउने वा शिरको रक्षाका निम्ति घेरा हालि सिलाइएको वस्त्रलाई टोपी वा शिरपोस भनिएको छ । ढाका र भाट्गाउँले टोपीको आगमन, प्रयोग र विस्तार जसरी भएता पनि अहिले विश्व समुदायले झट्ट देख्ने बित्तिकै नेपालीलाई चिन्ने एउटा गर्विलो पहिरन टोपी हो ।

    खास जात्रा पर्व र अवसरमा विभिन्न समुदायले विभिन्न आ(आफ्नो सामदायिक टोपीहरु लगाउने गरे पनि सामान्यतः कामकाजदेखि वैदेशिक यात्राका बेला र  विदेशी पर्यटक नेपाल आउँदा ढाका टोपी नै लगाइदिने प्रचलन बढेको छ । पछिल्लो समय युवापुस्तामा नेपाली टोपीप्रतिको क्रेज बढ्दो छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij