Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आजदेखि दशैं प्रारम्भ, आज पहिलो दिन घटस्थापना


  • बिहिबार, असोज १७ २०८१

  • आजदेखि दशैं प्रारम्भ, आज पहिलो दिन घटस्थापना

    काठमाडौं – आजदेखि हिन्दु नेपालीहरूको मुख्यपर्व बडादशैं  शुरू भएको छ। आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन बिहीबार बिहान घरघरमा जौ, मकै, गहुँ आदिको जमरा राखी घटस्थापना गरेपछि यसपालिको दशैं शुरू हुनेछ।

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले घटस्थापनाका लागि बिहान ९ बजेर १६ मिनेटको शुभ साइत तोकेको छ। फुर्सद हुने र साइत खोज्नेका लागि भने बिहान ९ बजेर १६ मिनेटको शुभ समयमा जमरा राखेर घटस्थापना गर्दा राम्रो हुने समितिले जनाएको छ ।

    आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म चल्ने हिन्दु नेपालीको महान् पर्व दशैंलाई असत्यमाथि सत्यको विजयका रूपमा लिने गरिन्छ। घटस्थापनाको दिन पूजा कोठा, दशैंघर अथवा कोतमा दियो कलश र गणेश थापी नवदुर्गाको स्थापना गर्ने चलन छ। कतैकतै भने ब्रह्माको पनि स्थापना गरिन्छ ।

    घटस्थापनाका दिन पूजा कोठामा घैंटो अथवा घडामा जलभरि माथिपट्टि आँप, चाप, बर पिपलको पात राख्ने परम्परा छ। यो घडा वरिपरि गाईको गोबर टाँसेर त्यहाँ जौ उमार्ने प्रचलन रहेको छ। कलशको स्थापना गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँबाट ल्याइएको चोखो बालुवा या माटोमा जौ छरिन्छ। बिहानै उठेर नुहाई धुवाइ गरी चोखो भएर पूजा कोठामा बालुवा अथवा चोखो माटो राखी जौ र मकैको बीउ छर्ने गरिन्छ।

    त्यहीँनजिकै थालीमाथि सुनको प्रतिमा राखी नवदुर्गा थाप्दै १० दिनसम्म पूजा गर्ने गरिन्छ । कहीँ कहीँ मकै र गहुँको प्रयोग भए पनि अधिकांश स्थानमा जौ छर्ने प्रचलन रहेको छ । यसरी उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रूपमा लगाउने गरिन्छ। नवदुर्गा देवीको पूजा अर्चनापश्चात् दशमीका दिन त्यहाँबाट जमरा निकालिन्छ भने पूर्ण कलशको जलको अभिषेक पनि लिने चलन छ।

    असोज २६ गते शनिवारका दिन विजया दशमीकादिन देवी विसर्जन गरी प्रसाद स्वरूप टीका लगाउने गरिन्छ। यस वर्ष दशैंको टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij