संविधानसभाले संविधान बनाएपछि दोस्रो पटक पालिका सरकारको चुनाव सम्पन्न भएको छ । नेपालमा लिवरल डेमोक्रेशीको अभ्यास लामै समयदेखि हुदै आएको हो । यो अभ्यासमा डेमोक्रेटीक शक्ति नेपाली कांग्रेस र कम्युनिष्ट शक्ति बिच प्रतिस्पर्धा हुदै आएको थियो र आजसम्म पनि त्यही नै देखिन्छ । यसपटक नेपालको राजधानी काठमाडौं, धरान लगायतका केही ठाउमा अनपेक्षित रुपमा नेपाली कांग्रेस र कम्युनिष्टलाई हराउदै स्वतन्त्र उम्मेदवार भारी मतका साथ विजयी भए ।

यसमध्ये पनि काठमाडौंको चुनाव परिणामलाई निकै चासोका साथ हेरिएको छ । काठमाडौं महानगरपालिका (बत्तिस) ३२ वडामा विभाजन भएको छ । यहाँको मतदाता संख्या ३ लाख २ सय ४२ रहेको छ । यि मतदातासम्म आफ्नो एजेण्डा पु¥याउन स्वतन्त्र उम्मेदवारले सक्नु चानचुने काम थिएन । सामाजिक संजाल, मिडिया र स्वतन्त्र उम्मेदवारहरुको क्षमता र व्यक्तित्व कति सक्षम हुन्छ भन्ने यसले देखाउछ ।
इतिहास बोकेको नेपाली कांग्रेस, नेकपा एमाले जस्ता पार्टीका ३२ वडामा आफ्ना पार्टी प्रतिनिधिहरु छन् । उनीहरुलाई आफ्नो पार्टीले गरेका काम मतदाताको घरसम्म पु¥याउन सजिलो छ । तर यसपटक यि दुबै दल पराजित भए । काठमाडौंबाट जित्ने स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारले भन्दा २० हजार बढी मतले चुनाव जिते ।
यो कसरी सम्भव भयो ? सबैका मनमा यो प्रश्न हुनु स्वभाविक हो । बालेन्द्र साह एक इञ्जिनियरका साथै विश्वभरी लोकप्रिय गायन हिप पपका उत्कृष्ट गायक हुन् । हिप पप गायन युवा समुदायका विचमा ज्यादै चर्चित छ । उनले गाएका हिप पप शैलिले युवाहरुलाई स्वतः आकर्षण ग¥यो । यो विषय उनका लागि ज्यादै ठूलो अवसर रह्यो ।
युवा वर्गमा पपुलर भएका कारण सामाजिक सञ्जालमा उनको उम्मेदवारी बारे केही मात्रामा सजिलै प्रचार भयो । यो प्रचार उनको लागि ठूलो आधार भयो । पपुलर हिप पप गायक भएका कारण बालेन्द्र साहलाई देश र विदेशमा रहेका युवाहरुले प्रोत्साहन दिए ।
गायन क्षेत्र एक कला क्षेत्र पनि हो । यसैका माध्यमले बालेन्द्रको राम्रो सम्पर्क कलाकारहरुका विचमा पनि रह्यो । नेपालमा नाटक, फिल्म, गायन, नृत्य गरेर राम्रो संख्यामा कलाकारहरुको उपस्थिति छ । यि सबै विधामा रहेका कलाकारहरुको स्वभाविक समर्थन उनले पाउनेनै भए ।
२०७२ सालमा गोर्खा केन्द्र विन्दु भएर ठूलो भूइचालो गयो । सबै अस्तव्यस्त भएको थियो । हजारौंको मृत्यु, घरहरु भत्किएर बेघरबार भएका थिए । बालेन्द्र एक सक्षम इञ्जिनियर भएको हुँदा उनी एक कम्पनीसँग मिलेर भूकम्प पीडितहरुको लागि घर निर्माणमा लागे । यो पनि उनको सामाजिक काम प्रतिको जिम्मेवारी बोध थियो ।
बालेन्द्र साहले आफ्ना एजेण्डाहरुलाई केन्द्र भागमा राखेर चुनाव प्रचारमा लागे । जसमा फोहरको व्यवस्थापन गर्ने, खानेपानीको व्यवस्था गर्ने, बस्न योग्य शहर बनाउने, नगरपालिकाको बैठक लाईभ गर्ने, आर्थिक पारदर्शीता गर्ने लगायतका मतदाताको समस्याको समाधान गर्ने र भविष्य देखाउने एजेण्डा प्रस्तुत गरे । जसले गर्दा मतदातालाई आकर्षण ग¥यो ।
गालिको राजनीति हामी कसैलाई मन नपर्नु स्वभाविक हो । तर ठूलो राजनीतिक पार्टी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले निम्न स्तरको अभिव्यक्ति दिए । गालि–गलोजको भाषा प्रयोग गरेको देखियोरसुनियो । साथै अर्को ठूलो पार्टी नेपाली कांग्रेसका उम्मेदवार सृजना सिंहको शालिन व्यवहारलाई राम्रो मानिए पनि उनको व्यक्तिगत राजनीतिक योगदान देखिएन । लामो इतिहास बोकेको पार्टी नेपाली कांग्रेसको उम्मेदवार सामान्य व्यक्तित्व रहनु एक किसिमको कमजोरी थियो । बालेन्द्र साहले कसैलाई गालिको शब्द प्रयोग गरेनन् । शालिनतामा पनि उनि अब्बलै देखिए । उनले आफ्नो एजेण्डाहरु प्रस्तुत गर्दै गए । मतदाताले उनलाई मनपराउनु यो पनि कारण बन्यो ।
लोकतन्त्र स्थापना गर्न इतिहास भएका दलहरुको भूमिका महत्वपूर्ण छ । आजको खुला व्यवस्था र समाजमा आएको परिवर्तन उनीहरुकै देन हो । तथापि निक्कै लामो समयदेखि सत्तामा रहेर काम गर्ने अवसर पाएका दलहरु जिम्मेवार बन्न सकेनन् । यो वा त्यो नाममा भएका अनियमितता, भ्रष्टाचार सबैले थाहा पाउने र बुझ्ने हुँदा पनि दलहरुले तिनैलाई संरक्षण गरे ।
ठूलो संख्यामा नेपालीहरु विभिन्न किसिमले विदेशमा छन् । उनीहरु नेपाललाई माया गर्छन्, नेपालको प्रगति चाहन्छन् । व्यवस्था परिवर्तन भयो, नेतृत्व परिवर्तन भयो । तर जनताले चाहेको जस्तो आर्थिक पारदर्शीता, विकासको चाहना र समाज रुपान्तरणको लागि खेल्नु पर्ने अग्रणी भूमिकामा मुख्य दलहरु चुके । जसका कारणले गर्दा काठमाडौं जस्तो सचेत नागरिकले आफ्नो मताधिकारको प्रयोग गरेर दिएको यो सन्देश अर्थपूर्ण छ ।
बालेन्द्र साह अहिलेको समयमा एउटा नमूना पात्र मात्र हुन् । उनले आफैले अघि सारेका एजेण्डा कसरी पुरा गर्छन् ? भविष्य देखाउने कामहरु उनले कसरी अघि बढाउछन् ? उनको परिक्षाको घडी प्रारम्भ भएको छ । विगत केही वर्ष अघि युवा पुस्ताको प्रतिनिधित्व गर्दै राजनीतिक दल पनि गठन भएको थियो । त्यसलाई देशरविदेशमा रहेका युवाहरुको समर्थन र विश्वास पनि थियो । तर त्यो दल आज कहाँ छ कुनै युवाले नाम लिन चाहेको देखिदैन । त्यसैगरी बालेन्द्र साहको अवस्था पनि भविष्यको गर्भमा नै छ ।
यो परिक्षा बालेन्द्र साहको मात्र हुँदै छैन । उनलाई विश्वास गरेर आफ्नो अमूल्य मत दिने मतदाताको पनि परिक्षा हुँदैछ । यहाँ बालेन्द्र असफल भए उनलाई मतदान गर्ने मतदाताको मन भाचिने छ । जसले गर्दा थुप्रै नकारात्मक दृष्टिकोणहरु निर्माण हुनसक्छन् । देशलाई सक्षम बनाउन बलियो नेतृत्वको आवश्यकता पर्दछ । यहाँ अहिलेको अवस्थामा इतिहास बोकेका दलहरुले दलिय व्यवस्थापनसम्म पनि गर्न नसकेर विभिन्न समुहहरुमा देखिइरहेका छन् । कतिपय दलिय व्यवस्थापन गर्न क्षमता भएको नेतृत्वले पनि जनताको भावना बुझ्न सक्दो रहेनछ । जनमतको परिणामले यो देखाएको छ ।
७५३ पालिका सरकारको लगभग चुनाव सम्पन्न भएको छ । पूर्वमा धरान, काठमाडौं र पश्चिममा कञ्चनपुर लगायतका ठूला नगरपालिकाहरुमा यसपटक स्वतन्त्र उम्मेदवार नगरप्रमुख भएर आएका छन् । शहरको समस्या बेग्लै छ भन्ने सन्देश यसले दिएको छ । राष्ट्रिय राजनीतिलाई पनि सतर्क गराएको छ । समग्रमा हेर्दा पालिका चुनावले महत्वपूर्ण सन्देश दिएको छ । नेपाल र नेपालीका लागि नेपालीहरु सक्षम छन् भन्ने पनि अहिलेको जनादेश रहेको छ ।
लेखक त्रिवेणी इन्टरनेशनल कलेज पोखारामा व्याचलर अध्ययन गर्दैछन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
