काठमाडौं – कर्णाली प्रदेश मन्त्रिपरिषद्को सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । मन्त्रिपरिषद्को सम्पत्ति विवरण सोमबार (हिजो) मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा सार्वजनिक गरिएको हो ।
सार्वजनिक विवरणानुसार मुख्यमन्त्री जीवनबहादुर शाहीको हुम्लामा दुई र काठमाडौंमा एउटा गरी तीन घर रहेका छन् । मुख्यमन्त्री शाहीका नाममा बाँकेको खजुरामा दुई बिघा जमिन छ भने हुम्लाको खार्पुनाथमा दुई ठाउँमा गरी २१५ रोपनी जग्गा छ । शाहीकै नाममा रहेको बाँकेको नेपालगन्जमा ४६ नम्बर कित्ताको जग्गाको क्षेत्रफल भने खुलाइएको छैन ।
यस्तै, शाहीकी श्रीमती वसन्तीका नाममा काठमाडौंको चन्द्रागिरिमा पाँच रोपनी १० आना दुई दाम जमिन छ । शाहीको विभिन्न बैंकमा गरी सवा करोड रुपैयाँ बचत देखिएको छ । उनका नाममा एक करोड ७२ लाख रुपैयाँ व्यक्ति र बैंकबाट ऋण लिएको सम्पत्ति विवरणमा उल्लेख छ ।
यस्तै, शाहीसँग ५६ तोला सुन, दुई किलो चाँदी, दुईवटा घोडा, ५० भेडाबाख्रालगायत सम्पत्ति देखिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
