काठमाडौं – अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एममीसी) का उपाध्यक्ष फतिमा सुमारले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सित भेटवार्ता गरेकी छन् ।
आज बिहान सुमार प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेकी हुन् । उनीहरूबीच करिब ५० मिनेट भेटवार्ता भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।
भेटमा प्रचण्डले एमसीसीका सम्बन्धमा राष्ट्रिय सहमति गरेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले सत्तारूढ गठबन्धनभित्र पनि यस विषयमा साझा धारणा बन्नुपर्ने बताए ।
बिहीबार काठमाडौं आएको सुमार नेतृत्वको टोलीले यहाँका राजनीतिक दलका नेताहरूसित छुट्टाछुट्टै भेटवार्ता गरिरहेको छ ।
उपाध्यक्ष सुमारले भने आफूहरूको नितान्त सद्भावना भ्रमण भएको बताएकी थिइन् । “हामी नेपालका राजनीतिक दलहरूसँग छलफल गर्ने, गुडविल भेट गर्न आएका हौँ,” सापकोटाले सुमारको भनाइ उद्धृत गर्दै भने, “हाम्रो यो गुडविल भ्रमण हो ।”
उक्त भेटवार्तापछि सुमारले प्रचण्डपत्नी सीता दाहाललाई भेटेर उनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएकी थिइन् । उनको स्वास्थ्यलाभको कामना गरेकी थिइन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
