काठमाडौं– बागमती प्रदेशसभामा नेकपा एमालेका ५६ सांसदमध्ये १२ जनाले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराएका छन् ।
मंगलबार निर्वाचन आयोगको कार्यालय पुगेर १२ जना सांसदले आफू नेकपा एकीकृत समाजवादीमा रहने गरी सनाखत गराएका हुन् ।
प्रदेश सरकारमा सामाजिक विकास मन्त्री रहेका कृष्णप्रसाद खनालसहित १२ सांसदले नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराएका छन् । सनाखत गराउने अन्य सांसदमा राजेन्द्र पाण्डे, मुनु सिग्देल, रमा आलेमगर, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाई छन् ।
यस्तै, माधव पौडेल, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ र राजेन्द्रमान श्रेष्ठले पनि निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादीमा रहने गरी सनाखत गराएका छन् ।
१०९ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित ५६ सांसद थिए । १२ जना सांसद एमाले छाडेर नयाँ दलमा सामेल भएसँगै अब प्रदेशसभामा एमाले ४४ सांसदमा खुम्चिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
