काठमाडौं – मदिरा सेवन गराई राउटे समुदायका युवतीलाई यौन दुव्र्यवहार गरेको भनिएको घटनाको राष्ट्रिय मानव अधिकार आयोगद्वारा अनुगमन प्रभावकारी अनुसन्धानमार्फत दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह गरेको छ
सुर्खेतको गुर्भाकोट नगरपालिका–९ का युवाहरुले स्थानीय राउटे समुदायका युवतीहरुलाई प्रलोभनमा पारी मदिरा सेवन गराई यौन दुव्र्यवहार गरेको भनी विभिन्न माध्यमबाट आयोगलाई प्राप्त समाचारप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको आयोगका प्रवक डा. टिकाराम पोखरेलद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।आयोगको कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले यस सम्बन्धमा अनुगमन गरेको पनि आयोगले जनाएको छ ।
स्थानीय तीनजना युवाहरुले राउटे समुदायका दुई जना युवतीलाई प्रलोभनमा पारी स्थानीय होटलमा लगेर यौनजन्य कार्य गर्न बाध्य बनाएको, उक्त घटनाका कारण निज युवतीहरुलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना देखिएको र उनीहरुको ज्यान नै जोखिममा पर्न सक्ने अनुगमनबाट पाइएको छ । प्रलोभनमा पारी यौनहिंसामा लगाइएका उल्लेखित दुई युवतीहरुलाई यस अघि पनि राउटे मुखियाले ४ महिना नजरबन्द जस्तै गरी बन्दी बनाइएको जानकारी प्राप्त भएको छ ।
पीडित युवतीहरुको गोपनीयताको संरक्षण गर्दै तत्काल स्वास्थ्य परीक्षण गर्न, उनीहरुको भौतिक सुरक्षा गरी जीवनको अधिकार संरक्षणमा तत्काल आवश्यक पहल गर्न र प्रभावकारी अनुसन्धानमार्फत दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन आयोगले नेपाल सरकारलाई आग्रह गरेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
