काठमाडौं –त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) महाराजगञ्जमा ११ महिने शिशुको कलेजो प्रत्यारोपण भएको छ । शिक्षण अस्पतालका चिकित्सकहरुले शनिबार राति ८ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरेका हुन् । प्रत्यारोपणका लागि ती बालकलाई उनका ३५ वर्षका बाबुले कलेजो दान गरेका थिए ।
काभ्रे घर भएका ति बालकको डेढ महिनादेखि प्रत्यारोपणको लागि तयारी गरिएको शिक्षण अस्पतालले जनाएको छ । शिक्षण अस्पतालमा लिभर, प्यान्क्रियाज सर्जन प्रा. डा. रमेश सिंह भण्डारीको नेतृत्वमा कलेजो प्रत्यारोपण सुरु भएको थियो । डा. भण्डारीका अनुसार त्रिवि शिक्षण अस्पतालमा यो पाँचौं कलेजो प्रत्यारोपण हो ।
प्रत्यारोपणमा सघाउन फोर्टिस अस्पताल भारतका डा. विजय भिजको नेतृत्वमा चिकित्सकको टोली आएको थियो । उनीहरुको सहयोगमा प्रत्यारोपण सफल भएको अस्पतालले जनाएको छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
