काठमाडौं– संवैधानिक परिषद्को बैठक स्थगित भएको छ। परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारका लागि बैठक डाकेका थिए। बिहान ११ बजेका लागि डाकिएको बैठक साँझ ५ बजेका लागि सारिएको थियो। तर साँझ पनि बैठक नबस्ने भएको हो।
तर, प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले सर्वोच्च अदालतमा संसद विघटनसम्बन्धी मुद्दा चलिरहेका बेला सोही मुद्दाका पक्ष रहेका प्रधानमन्त्रीले बोलाएको बैठकमा उपस्थित हुन नमिल्ने जवाफ दिएका कारण परिषद्को बैठक स्थगित भएको स्रोतले बतायो ।
हाल प्रतिनिधिसभा विघटन र अध्यादेश विरुद्ध हाल सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ।
संवैधानिक परिषद्मा प्रधानमन्त्रीसँगै, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख र प्रमुख प्रतिपक्षीदलका नेता सदस्य रहन्छन्। हाल प्रतिनिधि सभाको उपसभामुख पद रिक्त रहेको छ।
गत मंसिर ३० प्रधानमन्त्री केपी शर्मा ओलीले कायम रहेका सदस्य संख्याको बहुमतले निर्णय गर्न सक्ने गरि संवैधानिक परिषद् सम्बन्धि ऐनलाई अध्यादेश मार्फत् संशोधन गरेका थिए।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
