काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली तानशाह हिटलरको बाटोमा हिडेको बताएका छन् । काठमाडौँमा प्रतिनिधि सभा विघटनविरुद्ध आयोजित बृहत विरोध सभालाई सम्बोधन गर्दै शुक्रबारको प्रदर्शनलाई जनआन्दोलनको झल्को देखिएको बताएका छन् । तर यो कास्टिङ मात्र भएको भन्दै उनले भने, ‘फिल्म सुरु हुन बाँकी नै छ ।’
नेपालले ओलीलाई पार्टीले दण्ड दिन सुरु गरिसकेको बताए । अध्यक्षबाट हटाउनुका साथै साधारण सदस्यबाट किन नहटाउने भनेर स्पष्टीकरण सोधिएको बताए । आफू भर्खर सुर्खेतबाट आएको भन्दै अध्यक्ष नेपालले भने, ‘उहाँले कतै मैले गल्ती गरेँ भनेर पत्र पो पठाएको छन् कि ? म पनि संसद पुन–स्थापनाको आन्दोलन सहभागी हुन्छु भन्नु भएको छ कि ? मैले हाम्रा नेताहरुलाई सोध्न पाएको छैन ।’
नेपालले ओली ‘घरमा विवाद भए घरै भत्काउने, पार्टीमा समस्या भए पार्टी नै सक्ने, संसदमा समस्या भए संसद नै सिध्याउने’ प्रवृतिको मान्छे रहेको टिप्पणी गरे । उनले ओलीलाई साइबर सेना मात्रै मनपर्ने भन्दै ओलीको त्यही गलत प्रवृतिका विरुद्ध संघर्ष गर्नुपरेको बताए । उनले ओलीलाई सुर्धान गरेका अनेकन प्रयास असफल भएको र त्यसमा पनि समीक्षा हुनसक्ने बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
