विराटनगर – सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका– १४ भदौरेमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भिर छ ।
भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कारपियो कार शनिबार राति ११ः५५ मा दुर्घटनामा परेको प्रदेश ट्राफिक प्रहरी कार्यलयले जनाएको छ । गाडी सडकबाट करिब ९०० मिटर तल खसेको छ ।
दुर्घटनामा मृत्यु भएकामध्ये दुई जनाको पहिचान खुलेको छ । दुर्घटनामा परेर ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्णबहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । मृतक अन्य तीन जनाको पहिचान हुन बाँकी छ ।
दुर्घटनामा मृत्यु भएकामध्ये अन्दाजी ३०–३२ वर्षका पुरुष, ३०–३५ वर्षका पुरुष र अर्की ३०–३५ वर्षकी महिलाको पहिचान खुलेको छैन । पहिचान नखुलेका तीनै जनाको घटनास्थलमै ज्यान गएको हो ।
दुर्घटनामा परेर ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र स्कोरपिओ चालक रुपन्देही मधुवलिया–४ का २८ वर्षीय पवन खड्का गम्भीर घाइते भएका छन् । घाइतेलाई कटारी अस्पताल हुँदै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि पठाइएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
