Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

डा‍. गोविन्द केसीले उपचार गर्न मानेनन्


  • आइतबार, असोज ४ २०७७

  • डा‍.  गोविन्द केसीले उपचार गर्न मानेनन्

    जुम्ला — चिकित्साशिक्षा सुधार र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायत कार्यक्रम तत्काल सञ्चालन गरिनुपर्ने माग राखी अनशनरत डा. गोविन्द केसीलाई शनिबार राति प्रहरीले अस्पताल ल्याए पनि उनले उपचार लिन मानेका छैनन् ।
    अनशन स्थलबाट प्रहरीले केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसीयू कक्षमा पुर्‍याएको थियो । माग पूरा गर्नुको सट्टा अपहरण शैलीमा अस्पताल लगिएको भन्दै उनले कुनै उपचार नलिने अडान राखेका छन् ।

    अनशनको सातौं दिन आइतबार उनले अस्पतालको शय्याबाटै आफ्नो १९औं सत्याग्रह जारी रहेको जनाएका छन् । केसीको स्वास्थ्य बिग्रँदै गएपछि शनिबार दिउँसो नै चिकित्सकले अस्पताल लैजान सुझाव दिएका थिए ।
    ‘हिजो (शनिबार) सम्म दिनमा तीनपटक सामान्य स्वास्थ्य जाँच गरिरहेकोमा अस्पताल ल्याएपछि कुनै खालको स्वास्थ्य जाँच लिन मान्नुभएको छैन,’ डा. प्रवीण गिरीले भने, ‘प्रेसर, मुटुको गति, शरीरको तापक्रम, अक्सिजन, पिसाबको मात्रालगायत कुनै पनि जाँच गर्न सकिएको छैन ।’
    केसीको रगतमा चिनीको मात्रा अति कम भई प्रमुख अंगहरूमा जटिल समस्या देखिन सक्ने अवस्था रहेको भन्दै उनले रोग प्रतिरोधात्मक क्षमता कम हुँदा संक्रमणको खतरा पनि बढेर गएको बताए । प्रतिष्ठानले केसीको उपचारमा गिरीसँगै डा. धीरज गुरुङ, डा. अनुप मंगल समाल र सविना थापालाई खटाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij