काठमाडौं – अर्थ सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले नागरिकलाई सुसूचित गराउन जहिले पनि प्रेसले महत्वपूर्ण भूमिका खेल्ने गरेको बताउनुभएको छ । सूचना तथा प्रसारण विभागद्धारा प्रकाशित पुस्तकहरुको आज सार्वजनिकीकरण कार्यक्रममा बोल्दै मन्त्री डा. खतिवडाले सरकारले संचार क्षेत्रलाई माथि उकास्न सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले पत्रकारहरुको कोरोना बिमा गर्न लाग्ने रकममा सरकारले ३०० सहयोग गर्ने र बाँकी पत्रकारले आफैले वेहोर्ने गरी व्यवस्था मिलाउन लागेको पनि जानकारी दिनुभयो ।
आगामी दिनमा विभाग पूर्ण रुपमा डिजिटाइज बनोस् भन्दै त्यसका लागि सरकारले आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठले सामाजिक सञ्जालमा भ्रम सिर्जना गर्ने खालका समाचारहरु धेरै आउने भएकोले युवटुयुवलाई बेलैमा नियमन गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो । कोरोनाका कारण केहि ठूला संचार माध्यम बाहेक साना लगानीका अधिकांश संचार क्षेत्र बन्द भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले श्रमजीवी पत्रकारहरुको अवस्था अहिले दयनिय रहेकोले कामबाट हटाउने र वेतलबी विदा बस्न बाध्य पार्ने कार्यलाई तत्काल रोक्न जरुरी रहेको बताउनुभयो ।
यसैगरी न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले विभागले सार्वजनिक गरेको पुस्तकहरु सबै वर्ग र क्षेत्रको लागि उपयोगी रहने बताउनुभयो । कार्यक्रममा विभागले नेपाल परिचय,नेपाल द्धैमासिक र नेपाल विविधतामा एकता नामक पुस्तकहरु सार्वजनिक गरेको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
