काठमाडौं – सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले चैत १० गते अर्थात सोमबारदेखि चीन तथा भारतसँगका सम्पूर्ण सीमानाकाहरु चैत १६ गतेसम्म अर्थात एक हप्तासम्मका लागि बन्द गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता खतिवडाले भने, “भोलिदेखि यात्रु आवागमनमा रोक लगाइएको छ । अत्यावश्यक वस्तुको आयातलाई नियमित गर्ने तर, यात्रु आवागमन रोक्ने निर्णय भएको छ । दुबै देशसँगको छलफलपछि सरकारले यस्तो निर्णय गरेको हो ।”
त्यसैगरी सरकारले सार्वजनिक र सरकारी कार्यालयहरु खोल्नेसमेत निर्णय गरेको छ । यसअघि शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सम्बोधनका क्रममा अत्यावश्यकबाहेकका सेवाहरु बन्द गर्ने बताएका थिए । जसका कारण आइतबार अन्योलता सिर्जना भएको थियो । आइतबारको मन्त्रिपरिषद् बैठकले सोमबारदेखि सम्पूर्ण सरकारी र सार्वजनिक कार्यालयहरु खोल्ने निर्णय गरेको हो । भिडभाड हुने निजी कार्यालयहरुबाहेकका निजी कार्यालयहरु नियमित रहनेसमेत बताइएको छ ।
सरकारले कोरोनाको महामारीबाट सरकारलाई अधिक भार नहोस् भन्ने उद्देश्यले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष स्थापना गर्ने निर्णय गरेको छ । जसअन्तर्गत सरकारले उक्त कोषका लागि प्रारम्भिक रुपमा ५० करोड जम्मा गर्ने भएको छ । त्यसैगरी सरकारी कर्मचारीको एक महिनाको तलबको रकम जम्मा गर्ने र अन्य विभिन्न सार्वजिनक र निजी संघसंस्थाहरुलाई पनि उक्त कोषमा सहयोग गर्न आह्वान गरेको छ । सरकारले उक्त रकम परिचालनका लागि आवश्यक कार्यविधी बनाउने निर्णयसमेत गरेको छ ।
कोरोना नियन्त्रणको पूर्वसावधानीका लागि सरकारी निकायहरु, जनप्रतिनिधिमुलक निकायहरु, राजनीतिक दल, सामाजिक र निजी संघसंस्थाले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा पनि यसलाई सशक्त ढंगले अघि बढाउन आग्रह गर्ने निर्णय सरकारले गरेको छ ।
कोरोनाका आशंकित बिरामीको जाँच र संक्रमितको उपचारमा खटिने चिकित्सकहरुलाई आवश्यक सामग्री उपलब्ध गराउने, पीपीईमा जोड दिने र प्रोत्साहनका लागि केही प्रतिशत रकम उपलब्ध गराउने निर्णय गरेको छ । सरकारले संकटमा खटिने चिकित्सिकहरुको सामाजिक सुरक्षाका कुरादेखि पेसागत इमान्दारिता र व्यवसायिकताका कुराहरुको ग्यारेन्टि सरकारले गर्ने भएकोले त्यसमा पछि नहट्न सरकारका प्रवक्ता युवराज खतिवडाले बताए ।
त्यसैगरी मन्त्रिपरिषद्को आइतबारको बैठकले यसअघि प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा गरेको सम्बोधनमा भएका कुराहरुलाई कार्यान्वयन गर्ने कार्यतालिका बनाएर स्वीकृत गरिएको जनाइएको छ ।
कोरोनाको महामारीलाई विशेष केन्द्रमा राखेर उक्त विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार मन्त्रिपरिषद्को बैठकमा कोभिड १९ को रोकथाम, नियन्त्रण उच्चस्तरीय समन्वय समितिका निर्णय र तिनका कार्यान्वयनबारे समीक्षा भएको जनाइएको छ ।
गत फागुन २१ गते प्रधानमन्त्रीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपणपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बसेको हो । बैठकअघि प्रधानमन्त्री ओलीले आइतबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसँग नियमित भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्री ओलीले गत शुक्रबार राष्ट्रका नाममा सम्बोधन गरी कोभिड १९ को जोखिमबाट बच्न आह्वान गर्दै हवाई र स्थलमार्गबाट अपनाउनुपर्ने सावधानी, जोखिमयुक्त स्थानबाट आवागमन रोकका साथै आजदेखि यही चैत २१ गतेसम्म अत्यावश्यकबाहेकका सेवा बन्दको घोषणा गरेका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
