काठमाडौं नेपाल एयरलाइन्सले भारतका सबै शहरमा गरिरहेको उडान रोकेको छ ।
भारतले २२ तारीखबाट सबै अन्तर्राष्ट्रिय वायुसेवालाई भारतमा प्रवेश रोक्ने निर्णय गरेको थियो । सोही अनुसार नेपाल एयरलाइन्सले भारतीय शहरमा गरिरहेको उडान रोक्ने निर्णय लिएको हो ।
डाइरेक्टोरेट जनरल अफ सिभिल एभिएसन, भारतद्धारा कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा जारी गरिएको सूचना अनुसार ती गन्तव्यको नियमित उडान तत्कालका लागि चैत्र १६ (मार्च २९,२०२०) गतेसम्मका लागि स्थगित गरिएको कम्पनीले जनाएको छ । चैत्र ९ गतेदेखि उडान स्थगित गरिएको अवधिभरका लागि टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने भएको छ ।
निगमले जापानको नारिता, मलेसियाको क्वालालाम्पुर, थाइल्याण्डको बैंकक, यूएइको दुबई, कतारको दोहामा गर्दै आएको उडान अनिश्चितकालका लागि बन्द गरिसकेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
