काठमाडौं– चीनको वुहानबाट फैलिएको कोरोनाभाइरसको संक्रमण नेपालमा पनि हुन सक्ने भन्दै सरकारले मास्क निर्यातमा प्रतिबन्ध लगाएको छ।
औषधी व्यवस्था विभागले रसायन तथा मेडिकल आपूर्ति संघ त्रिपुरेश्वरलाई पत्राचार गरेर मास्कलगायत सामग्री निर्यात नगर्ने भनेको हो।
चीनमा कोरोनाभाइरस संक्रमणबाट अहिलेसम्म तीन सय ६१ जनाको मृत्यु भइसकेको छ। १७ हजार तीन सय जनामा भाइरस संक्रमण देखिएको छ।
भाइरस संक्रमण फैलिएपछि विश्व स्वास्थ्य संगठनले विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको छ।
कोरोनाभाइरस नेपाल प्रवेश गर्न नदिन सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित सबै अन्तर्राष्ट्रिय नाकामा विशेष परीक्षण हेल्प डेस्क नै चलाएको बताएको छ।
नेपालमा सर्जिकल (स्वास्थ्यकर्मीले लगाउने) र एन ९५ मास्क बढी प्रयोग हुने गरेको छ। कोरोनाभाइरस संक्रमण हुने भएपछि हिजोआज मास्क प्रयोग गर्ने बढेका छन्, जसले गर्दा नेपालमै उत्पादन हुने मास्कले बजार धान्न सक्दैन।
नेपाली बजारमा रहेका १२ हजार पिस मास्क चीन पठाएपछि सरकारले मास्क निर्यात नगर्न भनेको छ। नेपाल(चीन चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजले तिब्बत चेम्बरलाई १२ हजार थान मास्क सहयोग गरेको थियो।
नेपाल पनि कोरोनाभाइरस संक्रमण हुन सक्ने जोखिम क्षेत्रभित्र रहेकोले मास्क, ग्लोभ्स, ह्यान्ड स्यानिटाइजरको माग बढेकोले निर्यात नगर्न विभागले आग्रह गरेको हो।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
