काठमाडौँ – सत्तारुढ दल नेकपाका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले विवाद र बहसमा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई संसदबाट पारित गर्न ढिलाइ गर्न नहुने बताएका छन् ।
संघीय संसदअन्तरगत प्रतिनिधिसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने ‘हामी अलिकति विलम्बमा भएका छौँ । सभामुख चयनमा विलम्ब भयो । अब विलम्ब गर्नुहुँदैन । सरकार, संसदले कामहरु तीव्र गतिमा अगाडि बढाउनुपर्छ । नत्र हामी वास्तवमा पछाडि पर्छौं । उनले भने, ‘थुप्रै विधेयकहरु पारित गरेर ऐन निर्माण गर्नुपर्नैछ, प्रस्तावहरु पारित गर्नुपर्नेछ । छ–सात वटा प्रधानमन्त्रीको कार्यकालहरु गुजार्दै आएर संसदसमक्ष प्रतिक्षा रहेका एमसीसीजस्ता कुराहरु पारित गर्नुपर्ने छ । यस्ता अनेक विषयहरु हाम्रा अगाडि छन् ।’
विकास, विज्ञान–प्रविधि, भौतिक पूर्वाधारजस्ता विषयमा विश्व तीव्र गतिमा अगाडि बढेको जिकिर गर्दै यो तीव्र गतिलाई पक्डन नसके हामी पछाडि परिने प्रम ओलीको भनाइ थियो । ‘ विकासको यस गतिलाई समाउन सकेनौँ भने हामीले समयलाई खेर फालेका हुन्छौँ हामीलाई समयलाई पर्खदैन ।’ उनले विकासको दिशामा देशलाई अगाडि बढाउने कामको नेतृत्व अहिलेको सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘हाम्रो समाजको चरित्र पनि मेलमिलाप ढंगले अगाडि बढ्नेछ । हामीले लोकतान्त्रिक प्रणाली स्थापित गरिसक्यौँ । जनतामा सार्वभौम शक्ति आइसक्यो । हामीले लोकतान्त्रिक प्रणाली मात्र नभएर प्रक्रिया अवलम्बन गरेका छौँ । यस्तो अवस्थामा सुशासन र विकासको मुद्दामा सम्पूर्ण प्रयास र विचारलाई केन्द्रीत गरेर अगाडि बढ्नुपर्नेछ,’ प्रम ओलीले भने ।
दलहरु एकताबद्ध भएर अगाडि बढ्दा सफलता र एकताबद्ध नहुँदा असफलता हात पारेको दृष्टान्त अगाडि सार्दै उनले यसमा पनि सबै दल एक भएर अगाडि बढ्नुपर्ने जिकिर गरे । ‘बहुदलमा मतभेद हुनसक्छन् तर हामी आधारभूत र महत्त्वपूर्ण कुरामा एकमत भएर स्वस्थ प्रतिस्पर्धा गरेर अगाडि जान सक्छौँ,’ उनले भने, ‘हिजो लोकतन्त्रको आन्दोलनमा साथसाथ अगाडि बढेका थियौँ । हाम्रा तरिका बाटा अलग भए पनि गन्तव्य एउटै थियो । विभिन्न असहमतिका बावजुद सहमतिको विन्दुमा पुगेर आज यो स्थानमा छौँ । ’
प्रधानमन्त्री ओलीले हाम्रो संसदले प्रभावकारी ढंगले अगाडि बढाउने गम्भीर अभिभारा आएको बताउँदै नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई कार्यकालको सफलताको शुभकामना दिएका छन् । ‘सर्वसम्मत निर्वाचित हुुनु खुसीको कुरा हो । यो राम्रो लक्षण हो,’ प्रम ओलीले भने, ‘असहमति विरोधको पक्षहरु रहेनन् । यही भावका साथ संसद आगामी दिनमा अगाडि बढ्नेछ भन्ने आशा गरेका छौँ । यहाँले संविधानको रक्षा गर्दै त्यसको मर्मअनुसार मर्यादित ढंगले संसदलाई अगाडि बढाउनुहुनेछ भन्ने आशा गरेका छौँ । यसमा सरकारको तर्फबाट पूर्ण सहयोग हुनेछ र सकारात्मक भूमिका रहनेछ ।’
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
