एजेन्सी- पाकिस्तानी सेनाले आफ्ना पूर्वप्रमुख परवेज मुसर्रफलाई मृत्युदण्ड दिने अदालतको निर्णयप्रति आपत्ति जनाएको छ।
सैनिक प्रवक्ता मेजर जनरल आसिफ गफूरले मंगलबार विज्ञप्ति जारी गर्दै ‘जनरल परवेज मुसर्रफविरूद्ध अदालतको फैसलाले सेनालाई धक्का लागेको बताएका छन् । विज्ञप्तीमा भनिएको छ ,‘पूर्वराष्ट्रपति समेत रहेका जनरल मुसर्रफले ४० वर्ष देशको सेवा गरे र उनीविरूद्धको फैसलाले संविधानको उपेक्षा गरेको छ।’
प्रवक्ता गफूरले भनेका छन्, ‘जुन व्यक्तिले देशको रक्षाको लडाइँ लड्यो त्यो कहिल्यै देशद्रोही हुन सक्दैन। अदालतले आफ्नो बचाऊ गर्ने मौका पनि दिएन जुन आधारभूत अधिकार हो। बिनाठोस सुनुवाइ हतारमा फैसला सुनाइयो।’
इस्लामावादस्थित विशेष अदालतले मंगलबार मुसर्रफलाई सन् २००७ मा देशमा संकटकाल लगाएर देशद्रोह गरेको आरोपमा मृत्युदण्ड दिने फैसला गरेको थियो।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
