काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले सिफारिस गरेका प्रदेश प्रमुखहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६३ को उपधारा २ बमोजिम नियुक्त गरेकी हुन् ।
सोमबार सरकारले सातवटै प्रदेश प्रमुखको नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले दिएको सुझावको आधारमा प्रदेश प्रमुखहरुको नामावली राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
नियुक्त हुनेमा प्रदेश एकमा सोमनाथ अधिकारी प्यासी रहेका छन् भने प्रदेश दुईमा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश पाँचमा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कनौली र सुदूरपश्चिम प्रदेशमा शर्मिला त्रिपाठीको नाम सिफारिस गरिएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेको थियो ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
