काठमाडौं – चन्द्रागिरी नगरपालिका र कीर्तिपुर नगरपालिका भित्र रहेका सबै इँट्टाभट्टा तत्काल हटाउन माग गर्दै शुक्रबार चन्द्रागिरी नगरपालिकाको कार्यालयमा स्थानीयले धर्ना दिएका छन् ।
उनीहरुले चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई ज्ञापन पत्र बुझाउँदै ५ दिनभित्र त्यहाँका इँट्टाभट्टा हटाउने निर्णय कार्यान्वयनमा नल्याए नगरपालिकाविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिएका छन् ।
क्यान्सरजस्ता घातक रोगहरु निम्त्याउने इँट्टाभट्टा हटाउने नगरपालिकाको निर्णय ५ दिनभित्र पनि कार्यान्वयनमा नआए नगरपालिकाविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने इट्टाभट्टा पीडित संघर्ष समितिले जनाएको छ ।
नगरपालिकाले प्रदुषणमुक्त नगर बनाउन गरेको आफ्नै घोषणा कार्यान्वयनमा ल्याउन नचाहेकाले आफूहरु चरणवद्ध आन्दोलन गर्न बाध्य हुनुपरेको स्थानीयले बताए ।
चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले सबै वडासँग छलफल गरेर सो क्षेत्रमा रहेका सबै इँट्टाभट्टाहरु हटाउने निर्णय कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गरे । उनले नगरपालिकाभित्र हुने सबै प्रकारका प्रदुषण नियन्त्रण गर्न नगरपालिका तयार रहेको पनि बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
