काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भ्रमण बर्ष २०२० को लक्ष्य हासिल गर्नका लागि कार्यशैलीमा तिब्रता ल्याउनुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा पर्यटन विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले पर्यटन बर्ष मूल आयोजक समिति र सचिवालयले गर्नुपर्ने थुप्रै कामहरु बाँकी नै रहेकाले कार्यशैलीमा तिब्रता ल्याउनुपर्ने आवश्यकता औल्याएका हुन् ।
उनले भने, ‘पर्यटन बर्ष २०२० को मिसन पुरा गर्न मूल आयोजक समिति र सचिवालयले गर्नुपर्ने थुप्रै कामहरु छन् । त्यसमा केही ढिलाई भएको छ । आगामी दिनमा सामान्य हिडाईबाट लक्ष्यमा पुग्न सकिन्न । अलिकति दौडिनुपर्नेछ । स्पीड अप गर्नुपर्नेछ । हाम्रो गियर चाही १ ÷२ नम्बरबाट अब हुदैन । माथिल्लो गियरमै जानुपर्छ ।’
उनले सरकारले आगामी पुस महिनाभित्र नै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सबै काम सम्पन्न गर्ने तथा त्यसको केही महिनाभित्र उडान पनि सुरु लक्ष्यसाथ काम भइरहेको बताए । त्यसैगरी सुर्खेत विमानस्थललाई रात्रीकालीन उडान भर्ने व्यवस्था सहित स्तररोन्नतिको काम भइरहेको पनि उनले जानकारी दिए ।
मंगलबार पर्यटन विभागले विशेष कार्यक्रम गरी काठमाडौं बाहिर रहने ७ कार्यालयहरुलाई काम गर्ने अख्तियारी सहित अधिकार प्रत्यायोजन गरेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
