काठमाडौं – निजगढ विमानस्थलमा अन्तर्राष्ट्रिय लगानी नजुटे सरकार आफैंले निर्माण गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताएका छन् ।
मंगलबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथ समन्वय समितिमा बोल्दै मन्त्री भट्टराईले लगानी बोर्डबाट निजगढ विमानस्थलका लागि लगानी जुट्ने अवस्था नआए सरकार अब पछाडि फर्कने मुडमा नरहेको बताएका हुन् ।
‘यो विमानस्थल निर्माणमा जति रकम लगानी लाग्छ, त्यो सबै एकैवर्षमा लाग्ने होइन’, उनले भने, ‘वार्षिक २०र२५ अर्ब रुपैयाँ सरकारका लागि ठूलो कुरा होइन ।’
मन्त्रालयले मङ्गलबार नै निजगढ विमानस्थलको लगानीका विषयमा लगानी बोर्डसँग पनि छलफल गर्दैछ । आगामी मङ्सिरसम्म निजगढ विमानस्थलको शिलान्यासको घोषणा गरेका मन्त्री भट्टराईले पूर्व तयारीका काम सकेरै शिलान्यास गरिने बताए ।
निजगढका रुख काट्नुअघि वृक्षारोपणको अभियान शुरु गर्ने भन्दै मन्त्री भट्टराईले आफू वन विनाश गर्न नभई विमानस्थल बनाउन आएको स्पष्ट पारे ।
राजनीतिक प्रतिवद्द्ता र सरकारले आयोजनालाई महत्त्व दिएको देखाउन समेत शिलान्यास आवश्यक रहेको उनको भनाइ छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
