काठमाडौं – रातिदेखि मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण हालसम्म रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर, ललितपुर, मकवानपुर र पर्सामा गरी ११ जनाले जनाले ज्यान गुमाएका छन् ।
प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार बनेपा–३, नालामा भूकम्प पीडितको घरमाथि पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् । मृत्यु हुनेमा ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीय सोहनी दंगाल छन् । घटनामा बुहारी ३० वर्षीया शुशिला र तीन महिने नातिनी अनुश्का घाइते छन् ।
रामेछापमा पनि पहिरोले पुरिएर रामपुरकी ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् ।
भोजपुरमा पनि पानीको भेल घरभित्र पस्दा भत्किएको पर्खालले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामप्रसाद राई गाउँपालिका–७, बासिखोराका ६६ वर्षीय जगतबहादुर राई छन् ।
टेम्केमैयुङ गाउँपालिका–९, लेखर्कका १४ वर्षीय बालक जनक विकको पनि शौच गर्ने क्रममा पहिरोले चर्पीसहित पुरिएर घटनास्थलमै मृत्यु भएको छ । ललितपुरमा पनि अविरल वर्षाका कारण एक जनाको मृत्यु भएको छ । खोटाङमा ३ जना बेपत्ता रहेका पनि जनाइएको छ ।
पर्साको पर्सागढी नगरपालिकामा बाढीले बगाएर एक बालकको मृत्यु भएको छ । पर्सागढी नगरपालिका वडा नं १ बस्ने १० बर्षका निखिल पटेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
उत्तरी मकवानपुरको थाहा नगरपालिका – ३ मा महाभीर खोलाले बगाउँदा घाइते भएकी बालिका सञ्चना बलामीको मृत्यु भएको छ ।
दम्कीबाट खोलाले बगाएको उनलाई चार सय मिटर तल पुगेपछि स्थानीयले उद्धार गरी अस्पताल पुर्याएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।
काठमाडौंको मुलपानीमा पनि पहिरोले पुरिएर एकैपरिवारका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा घर भइ कागेश्वर मनहरा नगरपालिका, मुलपानी बस्दै आएका नतु यादव, सर्मिला यादव र १० वर्षीय कुन्दन यादव छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
