काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संविधानले नै मुलुकलाई समाजवादोन्मुख उल्लेख गरेकाले सार्वजनिक शिक्षालाई समाजवादतर्फ लैजानुपर्ने बताएका छन् ।
आज शिक्षा पत्रकार सञ्जाल र राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको ‘सार्वजनिक शिक्षामा सबलीकरणः समाजवादी शिक्षा, अवस्था, चुनौती र अबको बाटो’ विषयक कार्यशाला गोष्ठीमा मन्त्री पोखरेलले उत्पादनमुखी शिक्षा नै आजको आवश्यकता भएकाले अबको शिक्षा समाजवादी हुने बताए ।
साथै उनले गरीब र धनीको पढ्ने शिक्षा नै सार्वजनिक शिक्षा भएकाले सीपसहितको समाजवादी शिक्षामा रुपान्तरण गरेर मुलुकको शिक्षा सुधार्नुपर्नेमा जोड दिँदै शिक्षा क्षेत्रमा देखिएका विकृति र विसङ्गति हटाएर २०७६ देखि २०८५ साललाई शिक्षा सबलीकरणको दशकका रुपमा लिनुपर्ने बताए ।
सार्वजनिक शिक्षा सुधार गरे मात्र मुलुकको समृद्धि हुने बताउँदै उनले अरु देशको नक्कल गरेर होइन्, आफ्नै देश सुहाउँदो शिक्षा प्रणाली लागू गर्नुपर्ने विचार व्यक्त गरे । मन्त्री पोखरेलले सार्वजनिक शिक्षाको स्वामित्व स्थानीय तहले लिएकाले अब शिक्षामा विभेद अन्त्य भएको उल्लेख गर्दै शिक्षा नीतिको मस्यौदा अन्तिम चरणमा रहेको र वर्षे अधिवेशनसम्म शिक्षासम्बन्धी सबै विधेयक ल्याइने जानकारी दिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
