Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पत्रकार महासंघद्धारा आन्दोलनका कार्यक्रमहरु स्थगित


  • मंगलबार, असार २४ २०७६

  • पत्रकार महासंघद्धारा आन्दोलनका कार्यक्रमहरु स्थगित

    काठमाडौं – सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकसहित समग्र सञ्चारसम्बन्धी विधेयकहरुलाई प्रेस स्वतन्त्रतामैत्री बनाउन दवाव मुलक आन्दोलनको कार्यक्रम गर्दै आएको मा नेपाल पत्रकार महासंघले आन्दोलन स्थगन गरेको छ । नेकपाको तर्फबाट महासंघले उठाएका मागहरु संशोधन प्रक्रिया लैजाने लिखित प्रतिबद्धता आएपछि महासंघले तेस्रो चरणको आन्दोलनबाट स्थगन गरेको जनाएको छ ।

    मिति : २०७६।०३।२४

    प्रेस विज्ञप्ति

    संघीय संसद्को राष्ट्रियसभामा २०७६ वैशाख २७ गते सरकारले दर्ता गरेको मिडिया काउन्सिल विधेयकसहित समग्र सञ्चारसम्बन्धी विधेयकहरुलाई प्रेस स्वतन्त्रतामैत्री बनाउने सन्दर्भमा नेपाल पत्रकार महासंघले दबाबमूलक आन्दोलन सञ्चालन गर्दै आएको विदितै छ । यसै सन्दर्भमा महासंघले उक्त विधेयक फिर्ता वा संशोधनको माग राखी संसद्मा रहेका सबै राजनीतिक दलहरुलाई महासंघका चासो र सरोकारहरुबारे लिखित ध्यानाकर्षण गराएको स्मरणीय छ । सरकारको नेतृत्व गरिरहेको पाटी नेकपा संसदीय दलका उपनेता माननीय सुवासचन्द्र नेम्वाङसमेतको उपस्थितिमा नेपाल पत्रकार महासंघ प्रतिनिधिमण्डलको पटकपटक छलफल र वार्ता भएको थियो ।
    यसै क्रममा आज मिति २०७५ असार २४ गते दिउँसो नेकपा संसदीय दलको कार्यालयमा उपनेता माननीय सुवासचन्द्र नेम्वाङ, नेकपा महासचिव माननीय विष्णु पौडेल, राष्ट्रियसभामा नेकपाका नेता माननीय दिनानाथ शर्मा, कानुनमन्त्री माननीय भानुभक्त ढकाल, प्रतिनिधिसभा सांसद माननीय योगेश भट्टराईसमेतको उपस्थितिमा संसदीय दलको तर्फबाट राष्ट्रियसभामा नेकपाका प्रमुख सचेतक माननीय खिमलाल भट्टराईले संसद्मा दर्ता भएको मिडिया काउन्सिल विधेयकमा संशोधन प्रस्ताव तयार पारी महासंघले उठाउँदै आएको मिडिया काउन्सिलको स्वायत्तता, गठन प्रक्रिया, दण्ड–जरिवानालगायतका सरोकारहरुलाई सम्वोधन गर्ने तथा सञ्चासम्बन्धी अन्य विधेयकहरुमा पनि महासंघसँग छलफल गरी अघि बढाउने लिखित प्रतिवद्धता व्यक्त भएको छ ।
    सरकारले दर्ता गरेका विधेयकका सन्दर्भमा सरकारको नेतृत्व गरिरहेको पाटीको संसदीय दलकै तर्फबाट प्रतिवद्धता व्यक्त भएको सन्दर्भमा महासंघ उक्त प्रतिवद्धताको स्वागत गर्दै कानुन निर्माण गर्ने थलो जननिर्वाचित संसद्ले महासंघका सबै सरोकारहरुलाई सम्वोधन गर्ने विश्वास व्यक्त गर्दछ । यस सन्दर्भमा महासंघले सञ्चालन गर्दै आएको तेस्रो चरणका सडक संघर्षका बाँकी कार्यक्रमहरु स्थगित गरी संघीय संसद्मा संशोधन प्रक्रियामार्फत महासंघले उठाएका विषय वस्तुलाई सम्वोधन गराउन छलफल, सम्वादजस्ता गतिविधिमार्फत दबाब सिर्जना गरिने जानकारी गराउन चाहन्छ ।
    महासंघको आन्दोलनमा साथ, समर्थन र ऐक्यवद्धता जनाउनुहुने आम पत्रकार साथीहरु, सञ्चारसम्वद्ध सबै संघसंगठनहरु, सम्पादक, पेशाकर्मी, अधिकारकर्मी, प्रेस स्वतन्त्रताका पक्षधर सबैमा हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि महासंघको अभियानमा सबैको साथ र सहयोगको अपेक्षा गर्दछ ।

    रमेश विष्ट
    महासचिव

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij