Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मुख्यमन्त्री पोखरेल र चीनको कान्छु प्रदेशका गर्भनरबीच भेटवार्ता


  • बुधबार, जेष्ठ १ २०७६

  • मुख्यमन्त्री पोखरेल र चीनको कान्छु प्रदेशका गर्भनरबीच भेटवार्ता

    बुटवल– प्रदेश नम्बर पाँच सरकारका मुख्यमन्त्री शंकर पोखरेल र चीनको कान्छु प्रदेशका गर्भनर थाङ रनच्यानविच भेटवार्ता भएको छ ।
    बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्री पोखरेलले प्रदेश ५ को विशेषता र संभावनाबारे जानकारी गराउँदै संघीयता कार्यान्वयनको एक वर्षमा आवधिक योजना र कानुन निर्माणलाई प्राथमिकता दिएको र योजनाबद्ध विकासको बाटो तय गरेको बताए।
    गौतम बुद्धको जन्मस्थल लुम्बिनीसहित धेरै बौद्ध संस्कृतिसँग सम्बन्धित सम्पदास्थलहरू रहेको र ती क्षेत्रमा पर्यटन प्रवर्द्धन गरी लाभ लिने गरी योजना अघि सारिएको मुख्यमन्त्री पोखरेलले बताएका थिए ।
    गभर्नर रनच्यानले प्रदेश ५ र बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाउँदा खुसी लागेको बताए।
    उनले नेपाल र चीन बीचको सम्बन्ध निकै पुरानो र घनिष्ठ रहेको बताउँदै सम्बन्धलाई मजबुत र फराकिलो बनाएर द्विपक्षीय हितमा धेरै काम गर्न सकिने बताएका थिए।

    द्विपक्षीय सहकार्यमार्फत् साँस्कृतिक तथा पर्यटन क्षेत्रमा धेरै गर्न सकिने उनको भनाइ थियो। उनले प्रदेश ५ को अवस्थाबारे मुख्यमन्त्रीबाट जानकारी पाएपछि प्रदेश ५ र कान्छु प्रदेशको अवस्था मिल्दोजुल्दो भएको बताए ।

    त्यसैगरी उनले पर्यटन प्रवर्द्धनमा कान्छुको अनुभव यहाँ काम लाग्ने भएकाले द्विपक्षीय अनुभव आदानप्रदानलाई बढाउँदै लैजानुपर्ने बताए।
    यसैगरी द्विपक्षीय सहयोग र साझेदारीका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। मुख्यमन्त्री शंकर पोखरेल र गभर्नर थाङ रनच्यानको उपस्थितिमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव धनञ्जय पौडेल र कान्छु प्रदेशका साँस्कृतिक तथा पर्यटन निर्देशक थन वइतोङले हस्ताक्षर गरी समझदारी पत्र आदानप्रदान गरेका थिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij