काठमाडौं – नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले सरकारले ल्याएको मिडिया काउन्सिलसम्बन्धी विधेयक तत्काल खारेज नगरे अन्तर्राष्ट्रिय मिडिया मिसन र संयुक्त राष्ट्रसंघलाई समेत गुहार्ने चेतावनी दिएका छन्।
आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महासचिव विष्टले भने, अहिले संसदमा प्रस्तुत गरिएको विधेयक पारित भएर कानुन बनेर आयो भने नेपालमा प्रेस स्वतन्त्रता बाँकी रहँदैन। त्यसैले हामीले आन्दोलनको घोषणा गरिसकेका छौं।’
उनले भने,‘हामी दरबारसँग लडेर आएका हौं। हामीसँग आफ्नो अधिकार रक्षाको लागि पर्याप्त क्षमता र अनुभव छ। सीप छ।’
क्लबका सभापति ऋषि धमलालको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै महासचिव विष्टले भने नेपाली प्रेस शान्ति प्रक्रियाको हिस्सेदार भएकोले यसको स्वतन्त्र प्रेसको रक्षा हुनुपर्ने स्पष्ट पारे। तर, पछिल्लो समय प्रेसलाई नियन्त्रित कानुन ल्याउने काम भएको छ ।
साथै विष्टले ,‘मिडिया काउन्सिलको स्वायत्तताको रक्षाको लागि हामी जस्तोसुकै कदम पनि चाल्न तयार छौं। यसको गठन प्रक्रिया र नियत नै खराब छ।’
आफूहरूलाई कुनै पनि हालतमा यो विधेयक स्वीकार्य नहुने उनको चेतावनी छ।
कुनै पनि शर्तमा आफूहरूलाई यो विधेयक र ऐन मान्य नहुने र देशभरिका पत्रकारहरू सडकमा उत्रिने पनि महासचिव विष्टले चेतावनी दिए।
ऐन ल्याउँदासमेत सरकारले सरोकारवालाहरूसँग कुनै छलफल नगरेकोमा पनि उनले आक्रोश पोखे।
उनले भने,‘यो कानुन मान्दैनौं। हामी अवेज्ञा गर्छौं।’
आमसञ्चार ऐन पनि प्रेसविरोधी आउन लागेको भन्दै सरकारले अहिले अपनाएको शैली र बाटो धेरै महँगो पर्ने पनि उनले चेतावनी दिए।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
