काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र जापानका विदेशमन्त्री तारो कोनोबीच भेटवार्ता भएको छ ।
बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेपालको दुई दिने औंपचारिक भ्रमणमा आएका विदेश मन्त्री कोनोले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।
भेटमा दुई मुलुकबीचका आपसी हितका विविध विषयमा छलफल भएको थियो । त्यस अवसरमा जापानले नेपालको कृषि क्षेत्रको विकासमा पनि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता प्रधानमन्त्रीसँग जनाएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले जानकारी दिए ।
प्रधानमन्त्रीसँगको भेटमा जापानका विदेशी मन्त्री कोनोले नेपालसँग सिधा हवाई उडान सम्झौंता गर्ने अवसर प्राप्त भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीसँग आभार व्यक्त गरेका थिए भने प्रधानमन्त्री ओलीले नेपालको तर्फबाट सो उडानसम्बन्धि तयारीको कामलाई छिट्टै अघि बढाउने जानकारी गराएका थिए ।
भेटमा प्रधानमन्त्री ओलीले आगामी अप्रिल १ बाट जापानले नौं वटा देशबाट श्रमिक आयात गर्ने निर्णयमा नेपाललाई पनि सहभागी गराएकोमा जापान सरकारलाई धन्यवाद पनि दिएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराईले बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
