धादिङ -प्रहरीले धादिङबाट करिब ६ सय केजी गाँजा, पाँच थान हतियारको साथमा नगद करिब सात लाख रुपैयाँ बरामद गरेको छ।
बेनिघाट रोराङ गाउँपालिका २ स्थित ओवाङको एक घरबाट प्रहरीले पाँच सय ७० केजी गाँजा र पाँच थान बन्दुक, सात लाख ५० हजार रुपैयाँसहित तीनजनालाई पक्राउ गरेको हो।
गाउँमा गाँजाको अवैध कारोवार भइरहेको सूचनाको आधारमा ३ नम्बर प्रदेश प्रहरी कार्यलय हेटौंडा, जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिगएको प्रहरी टोलीले धादिङ र मकवानपुरको सीमा क्षेत्र ओवाङगाउँबाट गाँजा, १ थान १२ बोरको बन्दुक, चार नाल भरुवा बन्दुक र नगद सात लाख पचास हजार बरामद गरेको हो।
पक्राउ पर्नेमा बेनिघाट रोराङ गाउँपालिका २ का गुन्जबहादुर घलान, ठूलो कान्छा तामाङ र सानो कान्छा तामाङ रहेका छन्। उनीहरु भरिया मात्रै हुन कि मालिक पनि हुन भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अनुसन्धानपछि उनीहरुलाई लागुऔषध ओसारपसार ऐन २०३३ र हातहतियार खरखजाना मुद्दा लगाइने बताइएको छ। पक्राउ पर्नेको साथबाट नगद ७ लाख ५० हजारसमेत बरामद भएकाले पैसाको स्रोत नखुलेमा कानुन अनुसार थप कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
