पाल्पा- बिहीबार राति पाल्पाको पूर्वखोला गाउँपालिका वडा नं. २ मा भएको जिप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ।
पाल्पाको जल्पाबाट बहादुरपुर जाँदै गरेको लु १ च २६५३ नम्वरको जिप राति ९ बजे दुर्घटनामा परेको थियो। जिप आफैं अनियन्त्रित भई सडक देखि करिब ९ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। रातिको समयमा दुर्घटना भएको र घटनास्थल जिल्ला सदरमुकाम तानसेनदेखि ६० किलोमिटर पूर्वदक्षिण रहेकोले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी मृत्यु हुने सबै एकै गाउँका रहेको प्रहरीले जनाएको छ। मृत्यु हुनेहरुमा माथागढी गाउँपालिका वडा नं.८ की ३३ वर्षीय यानिसर गाँहा, बुमा कुमारी दर्लामी, रेवत बहादुर जि.सी., कुनिसरा रुचाल, सोही ठाउँकै जिप चालक २० बर्षिय विरेन्द्र राना रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
यसैगरी घाईते हुनेहरुमा माथाँगढी ८ कै ४० बर्षिय सुरेन्द्र मश्राङगी, ४० बर्षिय देव सिंह राना, २६ बर्षिय शान्ता रुचाल र शान्ता रुचालको ३ बर्षिय छोरी रहेको प्रहरीले जनाएको छ।
घाईतेहरुको लुम्बिनी मेडिकल कलेज तानसेन प्रभासमा उपचार भईरहेको छ। घाईते मध्ये शान्ता रुचालको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ।
अहिले मृतकहरुको शव पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा तानसेनमा राखिएको छ। मृतक र घाईतेहरु सबै एकै ठाउँका रहेकोले माथागढीको ८ नं. वडा नै शोकमा डुबेको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
