काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफू लोकतन्त्रको मूल्य मान्यताका लागि कटिबद्ध रहेको बताएका छन् । उनले जनताको मुक्तिका लागि आफूहरु निरन्तर लागिपर्ने पनि बताए । युवा संघ नेपाल केन्द्रीय कार्यालय उद्घाटन तथा पदभार ग्रहण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता नेपालले भने, ‘केपी ओली त केही पनि होइनन् । न आन्दोलन न संगठन । केपी ओली भनेको गुटको अर्को नाम मात्र हो । माधव नेपाल समाधान हो ।’
उनले उनले केपी ओलीसँग कुनै पनि हालतमा सम्झौता नगर्ने भन्दै आफूहरुले फागुन २३ मा सर्वोच्च अदालतले गरेको फैसलालाई उचित नमानेपनि मान्न बाध्य भएको बताए । ०७५ जेठा भन्दा पहिलेको बिन्दुमा ओली आएमा र फागुन २८ को अवैधानिक कदमलाई फिर्ता लिएमात्रै ओलीसँग सहकार्यको सानो त्यान्द्रो बाँकी रहेको उनले बताए । ‘उहाँ सुध्रिनु्हन्छ भने लाग्दैन । तर आशाको सानो त्यान्द्रो भने बाँकी छ ।’ उनले भने ।
नेपालले संगठन बनिसकेपछि सडकमा बसिरहने कुरा नआउने भन्दै देशभरीका कार्यकर्ताले के भन्छन् त्यही आधारमा अघि बढिने बताए । उनले केपी ओलीले आफूलाई निकाल्ने हैसियत नराख्ने पनि बताए । ‘कारबाही अर्थहीन छ भनेर हामीले भनिसकेका छौं । हामी त्यसलाई महत्व पनि दिँदैनौँ’ उनले भने, ‘पार्टीमा उहाँले मलाई सदस्यता दिएको होइन । नेकपा माले एमाले बनाउन उनको भूमिका छैन । मलाई केपी ओलीले निकाल्ने ? त्यो कसैले सोच्न सक्छ ?’
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
