काठमाडौं – नेपाली बाबाको उपनामले प्रख्यात साधक तेजनाथ शर्मा घिमिरेको ६९ वर्षको उमेरमा सोमबार राति निधन भएको छ । दुई वर्षदेखि हड्डीको समस्याबाट पीडित उनको सोमबार राति सतुङ्गलस्थित आश्रममै निधन भएको हो । पैँतालीस वर्षअघि देखि चिया र पानी मात्र सेवन गरी साधना गर्नुभएकाले हड्डीको समस्या देखिएको चिकित्सकको भनाइ रहेको आश्रमले जनाएको छ । त्यहाँ घिमिरेको नेतृत्वमा ३३ रोपनी क्षेत्रफलमा नौतले विन्ध्यवासिनी मन्दिरसहित आश्रम बनिरहेको छ ।
विश्वमा शीतयुद्ध चलिरहेका बेला विसं २०४३ अघि घिमिरेले विन्ध्यवासिनीमा वैदिक विधिअनुसार ११ जना ब्राह्मणबाट एक महिनासम्म यज्ञ गराएका थिए । महायज्ञका लागि पशुपतिनाथबाट पोखरासम्म उनी पैदल यात्रा गरेका थिए । महायज्ञ सकेर घिमिरे पोखराबाट काठमाडौँ पनि पैदल यात्रा गर्दै आएका थिए । शीतयुद्धबाट विश्व शान्तिका लागि त्यो महायज्ञले योगदान गरेको विश्लेषण त्यसबेला गरिएको थियो । विसं २०४३ मा संयुक्त राष्ट्र सङ्घले समेत शान्ति वर्षका रूपमा घोषणा गरेको थियो ।
उनको आज बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् । बनारसमा साधनाका लागि बस्दा उनी नेपाली बाबाका नामले चिनिएका थिए । त्यसपछि उनी नेपाली बाबा उपनामले प्रख्यात भएका हुन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
