बैतडी – बैतडीका उच्च लेकाली भेगमा हिमपात भएको छ । खोड्पे, श्रीभावर, ढोल्यामोड, सिगासधुरा लगायतका क्षेत्रमा बिहीबार फेरि हिमपात भएको हो । यसवर्ष मंसिरको अन्तिम साता पहिलोपटक हिमपात भएको थियो ।
बुधबार रातिदेखि उच्च क्षेत्रमा हिमपात भएको स्थानीय बासिन्दाले जनाएका छन् । हिमपातका कारण बढेको चिसोले जनजीवन प्रभावित भएको छ ।
हिमपातले चिसो बढेसँगै बस्तुभाउ स्याहारमा समेत समस्या भएको स्थानीयले बताएका छन् ।
सिँचाइ नभएका क्षेत्रमा वर्षा र हिमपातले सिँचाइको काम गर्ने भएकाले किसान खुशी भएका छन् । हिमपातले विभिन्न रोगकीरासमेत नष्ट हुने कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए ।
बैतडीमा विद्युत् सेवा अवरुद्ध भएको छ । राति चलेको हावाहुरीले बैतडीको खोड्पे क्षेत्रमा लाइनमा समस्या आएको नेपाल विद्युत् प्राधिकरण बैतडीले जनाएको छ । विद्युत सेवा अवरुद्ध हुँदा सेवाग्राही मारमा परेका छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
