काठमाडौँ– गुण्डा नाइके तथा प्रदेश सभा सदस्य दीपक मनाङ्गे थुनामुक्त भएका छन् । ज्यान मार्ने उद्योगमा कसुरदार ठहर भएका मनाङ्गे गत वर्षको माघदेखि डिल्लीबजार कारागारमा बन्दी जीवन बिताइरहेका थिए ।
गत मंसिर २८ गते सर्वोच्चका न्यायाधीशद्वय शारदाप्रसाद घिमिरे र बम कुमार श्रेष्ठको संयुक्त इजिलासले मनाङ्गेलाई रिहा गर्ने आदेश दिएको थियो ।
ठेक्कापट्टा र असुली धन्दामा कुरा नमिलेपछि मनाङ्गे समूहले चक्रे मिलन समूहमाथि २०६१ सालमा आक्रमण गरेको थियो । आक्रमणमा मनाङ्गे समूहले चक्रेको हात नै छिनाएको थियो । पछि शिक्षण अस्पतालमा चक्रेको हात जोडिएको थियो ।
ज्यान मार्ने मनसायले आक्रमण गरिएको भन्दै मनाङ्गेमाथि जिल्ला अदालत काठमाडौंमा यसै मुद्दा दर्ता भएको थियो । तर जिल्ला अदालतले सामान्य कुटपिट मात्रै भएको भन्दै मनाङ्गेलाई २ वर्ष मात्रै कैद सजाय सुनाएको थियो ।
तर जिल्लाको फैसला चित्त नबुझेपछि सरकारले उक्त मुद्दा पुनरावेदन अदालत पाटनमा दायर गरेको थियो । पुनरावेदनले जिल्ला अदालतको फैसला केही उल्टी गर्दै ज्यान मार्ने उद्योग अन्तर्गत मनाङ्गेलाई ५ वर्षको जेल सजाय तोकेको थियो ।
पुनरावेदनको फैसलाविरुद्ध मनाङ्गे भने सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्च अदालतले गत माघमा पुनरावेदनकै फैसला सदर गर्दै मनाङ्गेलाई ५ वर्षको जेल सजाय हुने ठहर गरेको थियो ।
त्यसपछि मनाङ्गे डिल्लीबजार कारागारमा बन्दी जीवन बिताइरहेका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
