Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रैथाने कृषि बजार प्रति उपभोक्ताको आकर्षण बढ्दै


  • शनिबार, साउन ३१ २०८२

  • रैथाने कृषि बजार प्रति उपभोक्ताको आकर्षण बढ्दै

    शब्द तस्बिर / प्रदिप राज वन्त

    काठमाडौ । पछिल्लो केही वर्ष यता काठमाडौ उपत्यकाका विभिन्न स्थानमा रैथाने उत्पादन बिक्री बितरणका लागि हाटबजार लाग्ने गरेको छ । रैथाने बजारमा किसान आफैं उत्पादन लिएर आउँछन् र उपभोक्तालाई प्रत्यक्ष बिक्री गर्छन्। रासायनिक मल र विषादी बिना उब्जाएका अन्न, तरकारी, फलफूलदेखि अचार, परिकारजस्ता प्रशोधित सामग्रीसम्म यहाँ सजिलै भेटिन्छन्। उपभोक्ताले ताजा र सुरक्षित खाना पाउँछन् भने किसानले उचित मूल्य। रैथाने कृषि बजारले लाजिम्पाटमा रहेको होटल बुकीमा सनिबार बिहान रैथाने बजार सुरु गरेको छ । केही बर्ष देखी दरबारमार्गमा संञ्चालन हुदै आएको हाट बजार यो साता देखी होटल बुकीमा सुरु भएको हो । रैथाने कृषि बजारका संञ्चालक गौतम पौडेलका अनुसार यस्ता बजारले उत्पादक र उपभोक्तालाई जोड्ने पुलको काम गरेको छ । उहाँले भन्नुभयो सहरबासी उपभोक्ताले यसलाई विश्वासिलो विकल्प का रूपमा लिएका छन्। उपभोक्ताले किसानसँगै कुरा गर्न पाएका छन्, कुन तरकारी वा खाध्य बस्तु कुन खेतमा कसरी उब्जिएको हो थाहा पाउछन् यो निकै सकारात्मक छ ।

    बुकि बुटिकका व्यवस्थापक मनिष श्रेष्ठका अनुसार व्यस्त जीबनशैली अपनाईरहका उपभोक्तालाई कृषि परम्परासंग जोड्न हाट बजार सुरु गरिएको बताउनु भयो । उहाँले भन्नुभयो बजारबाट उपभोक्ताले दिएको सकारात्मक प्रतिक्रियाले सांस्कृतिक सम्पदा संरक्षण अभियानमा समेत सहयोग पुगेको छ ।

    हाट बजारमा भेटिनु भएका वरिष्ठ सेफ गोविन्द नरसिंह केसीले यस्ता बजारमा लोप हुन लागेका कृषिजन्य बस्तु यस्ता बजारमा भेटिदा खुसी लागेको बताउनु भयो ।वरिष्ठ सेफ केसीले यस्ता बजारमा सेफहरु आउन सुझाब दिनुभयो । उहाँले भन्नुभयो खाद्य सुरक्षा र आत्मनिर्भर अर्थतन्त्रको दृष्टिले पनि रैथाने कृषि बजार एक प्रभावकारी अभ्यास बन्ने संकेत देखिन थालेको छ।

     

    कृषि हाटबजारमा स्थानीय खाद्यान्न, अन्न, गेडागुडी, जडीबुटी, मौसमी फलफूल र तरकारी पाइन्छ । यसैगरी कृषिजन्य सामग्रीहरु फर्सीको मुन्टा, रायो साग, मह, आलु तथा अन्य सामाग्री राख्ने गरिन्छ । हाटबजारमा सहर र गाउँघरबाटै लोप हुन लागेका सामाग्रीहरू मोही पार्ने ठेकी, पुराना बत्ती, शंख, डाला र नाङ्लो, ढिकी, ओदान जस्ता सामाग्री प्रदर्शनीमा राखिएको छ ।

     

    बजारमा हस्तकलाका सामग्री, परम्परागत कृषि औजार, रैथाने बिउबिजन, बिरूवा, फूल र प्राङ्गारिक मल, नेपाली मौलिक परिकार, दुग्धजन्य उत्पादन, र बेकरी, कफी तथा चियाका स्टल समेत देख्न सकिन्छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij