Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काउन्सिलले दिने पुरस्कार किन पारदर्शी प्रक्रियाबाट अघि बढ्नु पर्छ ?


  • शनिबार, असोज १ २०७९

  • काउन्सिलले दिने पुरस्कार किन पारदर्शी प्रक्रियाबाट अघि बढ्नु पर्छ ?

    प्रेस काउन्सिल नेपालबाट पुरस्कृत सबैलाई बधाइ । काउन्सिलले दिने पुरस्कार किन पारदर्शी प्रक्रियाबाट अघि बढ्नुपर्छ ? यसबारे मेरो फेसबुके टिप्पणी पढ्नुहोला ।

    म लगायत धेरै सरोकारवालाहरूले प्रेस काउन्सिलले दिने पुरस्कारको पारदर्शितामा धेरै वर्षदेखि प्रश्न उठाइरहेका छन्, जुन यसपालि पनि देखिएन । कुन पुरस्कार फलानोले के योगदानका कारण प्राप्त गर्यो र आगामी दिनमा त्यो पुरस्कार प्राप्त गर्न अन्य आकांक्षीले के कस्तो व्यावसायिक अभ्यास गर्नु पर्ने हो भन्ने बारेमा प्रेस काउन्सिलको विज्ञप्ति मौन छ । धन्न पत्रकार हरिबहादुर थापाका बारेमा दुईचार हरफ लेख्न विज्ञप्तिमा ठाउँ पुगेछ । तर त्यसले पनि उहाँले यस वर्ष त्यो पुरस्कार प्राप्त गर्ने के योगदान गर्नुभो भन्ने खुलाउन सक्दैन ।

    अन्नपूर्ण पोस्टले यस वर्षको आचारसंहिता पत्रकारिता पुरस्कार पाएछ । यदि अर्थमन्त्री राजिनामा प्रकरणमा समाचार स्कूप मारेर धेरथोर सफलता हासिल गरेको उपलक्ष्यमा कुनै शाहसिक पुरस्कार दिएको भए त्यसमा गुनासो गर्ने ठाउँ हुँदैनथ्यो । तर त्यो पूर्ण सफलता होइन किनभने थप सिलसिलाबद्ध समाचार प्रकाशन गरेर अर्थमन्त्री माथि लागेको आरोप पुष्टि हुनसक्ने किसिमका सामग्री अन्नपूर्ण पोस्टले दिन सकेन । बरु, सिसिटिभीको भिडियो गायब पारेरै भए पनि अर्थमन्त्री पुनर्बहाली भए । बरु, आफ्ना कर्मचारीलाई समयमा तलब सेवासुविधा नदिएर श्रमजीवी पत्रकार माथि अपराध गर्ने अन्नपूर्ण पोस्ट संस्थागत हिसाबले कारबाहीयोग्य छ । आचारसंहितामा गएको एक वर्षमा अन्नपूर्ण पोस्टले के विशिष्ट योगदान गर्यो त्यो चाही स्पष्ट हुन सकेन ।

    तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रस्तुत गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयक त्रुटिहरूको पुलिन्दा थियो । मैले पनि त्यो विधेयक अध्ययन गरेर दुईओटा लेख प्रकाशन गरेको थिएँ । तर यसपालि नेपाल पत्रकार महासंघ र अन्य सरोकारवालाले उठाएका २९ ओटा सुधारमध्ये राष्ट्रिय सभाले २३ ओटा विषयलाई सच्याइसकेको र बाँकी विषयलाई प्रतिनिधि सभामा सच्याउने सहमति भइसकेको थियो । पत्रकार महासंघले विधेयक सुधारका सम्बन्धमा जारी गरेको पछिल्लो विज्ञप्तिमा त्यो कुरा प्रष्ट देखिन्छ । तर, त्यो विधेयक पारित हुने बित्तिकै अहिलेको प्रेस काउन्सिल खारेज वा निष्कृय हुन्छ । केहीका लागि त्यो जीवनमरणकै प्रश्न हो ।

    तसर्थ, सहमति भएर प्रतिनिधि सभामा पारित हुने प्रक्रियामा रहेको मिडिया काउन्सिल विधेयकलाई रोक्न काउन्सिलकै केहीले भूमिका खेले । त्यसका लागि मिडियामा त्यो विधेयक पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले पेस गरेकै अवस्थामा छ भन्ने प्रायोजित समाचारहरू लेख्न लगाइयो । विधेयक खारेज गर्नुपर्छ वा रोक्नु पर्छ भनेर केही प्रायोजित कार्यक्रमहरू पनि भए । अन्त्यमा नेकपा समाजवादीका अध्यक्ष माधव नेपालसम्म कुरा पुर्याएर “त्यो विधेयक अहिले पारित गर्न सकिन्न । यसलाई रोकौं” भन्न लगाइयो । अन्ततः त्यो विधेयक रोकियो । अब वर्तमान संसद अन्त्य भएर नयाँ निर्वाचनको प्रक्रियामा जाने भएकाले त्यो विषयमा गरिएका संशोधन, थपघट आदि सबै निरर्थक भए । अर्को संसदमा त्यो विधेयक प्रस्तुत हुँदा उही पुरानो गोकुल बाँस्कोटाकै संस्करणमा पुग्छ । मानौं, लुँडो खेल्दा ९९ मा पुगेपछि सर्पको मुखमा परेर फेरि १ वा २ मा आएजस्तो ।

    मैले यो भूमिका किन बाँधे भने पत्रकार महासंघ लगायतका सरोकारवालाले सहमति जनाएर प्रतिनिधि सभामा छलफल गरी पास गर्न ठिक्क पारिएको मिडिया काउन्सिल विधेयक रोक्न ज–जस्ले भूमिका खेले, प्रेस काउन्सिलले पुरस्कृतहरूको सूचिमा उनीहरूलाई सामेल गरिदियो । यसको मतलब पुरस्कृत सबैको भूमिका त्यही थियो भन्ने होइन । पुरस्कृत कतिपय मित्रहरूले मर्यादित वा व्यावसायिक पत्रकारिताका लागि गर्नु भएको योगदानका लागि नतमस्तक छु 🙏। प्रायः काउन्सिलले भागशान्ति पुरस्कार बाढ्थ्यो । “यसपालि त भागशान्ति पनि भएन, समावेशी पनि भएन, काउन्सिलले वर्षभरिमा कुनै क्रियाशील महिला पत्रकार भेटेनछ” भन्दै सामाजिक सञ्जालमा विभिन्न सरोकारवालाहरूले टिप्पणी गरिरहनु भएको छ । त्यसको कारण पनि विधेयक रोक्न गरिएको प्रयत्न नै हो ।

    काउन्सिलले पुरस्कार दिने प्रकृयालाई किन पारदर्शी बनाउनु पर्छ? किन पुरस्कृत व्यक्ति वा संस्थाको योगदानका बारेमा उल्लेख गरिनुपर्छ? किन गुपचुप भागशान्ति पुरस्कार बाड्नु हुँदैन भन्ने कुराका लागि माथिको पृष्ठभूमि लेखेको हुँ । मेरो कुरामा चित्त नबुझे मिडिया काउन्सिल विधेयक सुधारिएर कुन अवस्थामा आएको थियो, महासंघ र अन्य सरोकारवालाले त्यसलाई कहिले र कुन अवस्थामा पारित गराउन खोजेका थिए भनेर पत्रकार महासंघ लगायत सरोकारवाला व्यक्ति वा संस्थासँग बुझ्न गए भइहाल्छ ।

    यद्यपि पुरस्कृत सबैलाई बधाइ एवम् उत्तरोत्तर प्रगतिको शुभकामना । काउन्सिलको कार्यशैली पारदर्शी बनाऔं । बाँकी आफैं सच्चिँदै जान्छ ।

    (आचार्य आमसंचार विज्ञ एवं टिप्पणीकार हुन । उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको विचारलाई प्रकाशित गरिएको छ ।)

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij