***
स्कुल बसहरू कहाँ गए ?
सपना पुछेर घाटमा उभिएका
कलिला शिशुहरू कहाँ गए ?
अस्पतालबाहिर—
एम्बुलेन्सको साइरन मात्र रुँदै छ,
बिरामीहरू कहाँ गए ?
मसानघाटतिर—
रित्तै दौडिँदै छन् शववाहनहरू,
मलामीहरू कहाँ गए ?
निःशब्द मत्युशय्यामा
आफै हिँडेर पुगेका छन् लासहरू !
आफ्नै चितामा दागबत्ती दिएर
बिदा भएका छन् इतिहासहरू !
श्रद्धाका फूल चढाउने
अँजुलीहरू कहाँ गए ?
तिमीले जुनीभर खोजेका
बिहानीहरू कहाँ गए ?
निर्जन बस्ती जलेका
खरानीहरू कहाँ गए ?
तिम्रो आँखामा बलेका
साँझबत्तीहरू कहाँ गए ?
दुश्मन जस्ता छन् प्रियजनहरू !
प्रियजन जस्ता छन् दुश्मनहरू !
सिङको श्रीपेच पहिरिएका
यमराज जस्ता छन् शासकहरू !
हिजो सँगसँगै हिँडेका—
सहयात्रीहरू कहाँ गए ?
धर्तीको धमनीभित्र
रक्तकण जमेको हेर !
अक्सिजन सिलिन्डरभित्र
अश्रुग्याँस भरेको हेर !
ज्ञानीहरू कहाँ गए ? विज्ञानीहरू कहाँ गए ?
मृत्युको परेला पुछ्ने अज्ञानीहरू कहाँ गए ?
***
(वि. सं. २०७८ जेठ १८)
(सामाजिक सञ्जाल फेसबुकको डा. ढकालको वालवाट साभार )
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
