Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

म्यानमारमाथि प्रतिबन्ध लगाउने आदेशमा अमेरिकी राष्ट्रपति बाइडेनले गरे हस्ताक्षर


  • बिहिबार, माघ २९ २०७७

  • म्यानमारमाथि प्रतिबन्ध लगाउने आदेशमा अमेरिकी राष्ट्रपति बाइडेनले गरे  हस्ताक्षर

    अमेरिकी राष्ट्रपति जो बाइडेनले म्यानमारमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। राष्ट्रपति बाइडेनले बुधबार म्यानमारमा सैनिक कूको योजना बनाउने, कू गर्ने सेनाका जनरल र उनीहरूका परिवारका सदस्यहरूलाई प्रतिबन्ध लगाउने गरी आदेशमा हस्ताक्षर गरेको बताएका छन्।

    बाइडेनले आदेशमा हस्ताक्षर गरेपछि अमेरिकीले पहिलो चरणमा एक साताभित्र कसलाई के-केमा प्रतिबन्ध लगाउने भन्ने निर्क्यौल गर्नेछ। पहिलो चरणमा अमेरिकामा रहेको म्यानमार सरकारको १ अर्ब अमेरिकी डलरमा सैनिक जनरलहरूको पहुँच पनि रोक्ने बताइएको छ।

    ‘हामी निर्यातमा अझ कडा नियन्त्रण गर्दैछौं। म्यानमार सरकारलाई फाइदा पुग्ने अमेरिकी सम्पत्ति फ्रिज गर्दैछौं तर स्वास्थ्य हेरचाह, नागरिक समूह र म्यानमारका जनतालाई प्रत्यक्ष फाइदा पुग्ने अन्य क्षेत्रको सहयोगलाई जारी राख्नेछौं,’ बाइडेनले भने,‘हामी थप प्रतिबन्ध लगाउन पनि तयार रहनेछौं र यो प्रयासमा अरू मुलुकलाई जोड्न अन्तर्राष्ट्रिय साझेदारसँग निरन्तर काम गर्नेछौं।’

    बाइडेनले नेतृ आङ सान सुकीसहित अन्य नेताहरूलाई तत्काल रिहा गर्न र सत्ता हस्तान्तरण गर्न पनि म्यानमारको सेनालाई भनेका छन्। म्यानमारको सेनाले गत फेब्रुअरी १ मा नागरिक सरकार अपदस्त गरेर सत्ता हत्याएको थियो। गत नोभेम्बरमा भएको चुनावमा धाँधली भएको भन्दै सेनाले उक्त चुनावबाट निर्वाचित भएका सांसदहरूको पहिलो बैठक बस्न लागेको दिन नै सत्ता कब्जा गरेको हो।

    सन् २०११ मा सैनिक शासनको अन्त्य भएको म्यानमारमा सेनाले फेरि कू गरेपछि अन्तर्राष्ट्रिय समुदायले आलोचना गरेको छ। म्यानमारमा पनि निधेषाज्ञाका बाबजुद् दिनदिनै हजारौं मानिसले सडकमा प्रदर्शन गरिरहेका छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij