बाग्लुङ – बागलुङ जिल्लाको बडिगाड गाउँपालिकालाई भारत सरकारले निःशुल्क एम्बुलेन्स प्रदान गरेको छ । भारत सरकारले नेपालका ४१ सङ्घसंस्थालाई एम्बुलेन्स प्रदान गर्ने क्रममा बाग्लुङबाट बडिगाड गाउँपालिकाले एम्बुलेन्स प्राप्त गरेपछि गाउँपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याउन थालेको छ ।
भारत सरकारले महात्मा गान्धीको १५१औँ जन्मजयन्तीको अवसरमा बडिगाड गाउँपालिकालाई एम्बुलेन्स प्राप्त भई सञ्चालनको तयारीमा रहेको गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिए । ‘‘गाउँपालिकालाई कोरोना सङ्कटमा निकै समस्या भयो, निर्वाचित भएर आएपछि एम्बुलेन्सको आवश्यकता देखेर भारत सरकारलाई माग गरेका थियौं’’ गाउँपालिकाका अध्यक्ष पाइजाले भने, “तीन वर्र्ष पहिले माग गरेको एम्बुलेन्स हाल आएर उपहारस्वरुप प्राप्त गरेका छौं, यसको सञ्चालन र व्यवस्थापन गाउँपालिकाले गर्नेछ ।”
शुक्रबार गाउँपालिकाको नाममा एम्बुलेन्स हस्तान्तरण भएको अध्यक्ष पाइजाले जानकारी दिए । कर छुटसहित झण्डै रु १२ लाखभन्दा बढी मूल्य पर्ने बुलेरो एम्बुलेन्स प्राप्त भई गाउँपालिका ल्याउन थालिएको पाइजाले जानकारी दिए । कोरोना महामारीको समयमा आफ्नो एम्बुलेन्स नहुँदा भाडाको एम्बुलेन्समा सङ्क्रमित बोक्दै आएको गाउँपालिकाले आगमी दिनमा आफ्नै एम्बुलेन्स प्रयोग गर्दा सहज हुने गाउँपालिकाको अपेक्षा रहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
