Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

किसानलाई जंगली बँदेल मार्न अनुमति


  • बिहिबार, माघ २३ २०७६

  • किसानलाई  जंगली बँदेल मार्न अनुमति

    काठमाडौं । सरकारले निजी खेत, खला तथा बारीमा आउने जंगली बँदेल मार्न कृषकलाई अनुमति दिएको छ । जंगली वन्यजन्तुलाई चालु आर्थिक वर्ष २०७६/७७ भर ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा गरी त्यस्ता जंगली बँदेलले निजी खेत, खला र बारीमा पसी बालिनालीमा क्षति गरे मार्नसमेत सकिने गरी नियम बनाइएको छ ।
    वन तथा वातावरण मन्त्रालयका अनुसार जंगली बँदेलले किसानको खेतबारीमा आई बालीनालीमा नोक्सान पुर्‍याएमा वा धनजनको हानी नोक्सानी गरेमा किसानले एक्लै वा सामूहिक रुपमा बँदेललाई धपाउन, लखेट्न वा पक्रन सक्ने छन् । पक्राउ गरेको बँदेलबारे जानकारी भने सम्बन्धित राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, डिभिजन वन कार्यालयमा गराउनु पर्नेछ ।

    यदि बँदेललाई धपाउने वा पक्रने क्रममा बँदेल मर्‍यो भने सम्बन्धित वडाका प्रतिनिधिसहित कम्तिमा ५ जनाको रोहबरमा मुचुल्का उठाएर गाड्न सकिने छ । स्थानीय तहको राजस्व खातामा रकम जाने गरी बँदेललाई उपयोग गर्न सकिने र त्यसको जानकारीसमेत निकुञ्जलाई गराउन सकिने प्रावधान ल्याइएको छ । बँदेल मारिएमा त्यसको विवरण हरेक महिना वन तथा वातावरण मन्त्रालयमा समेत पठाउनु पर्ने भएको छ ।
    राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष, संरक्षण क्षेत्र वा वन क्षेत्रमा भने जंगली बँदेललाई पक्रन, लखेट्न र मार्न नपाइने वन मन्त्रालयले उल्लेख गरेको छ ।
    यदि नरभक्षी हो भने चितुवा, बाघ, भालु आदिलाई मार्न सक्ने अधिकार स्थानीय प्रशासन ऐन २०२८ को दफा ९ को उपदफा ४ ले दिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij