Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाली सेनालाई बेलायतमा स्वर्ण पदक


  • बुधबार, असोज २९ २०७६

  • नेपाली सेनालाई  बेलायतमा स्वर्ण पदक

    बेलायत– संयुक्त अधिराज्य बेलायतमा सञ्चालन भएको ‘एक्सरसाइज कब्रियन पेट्रोल २०१९’ सैनिक अभ्यास प्रतियोगितामा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ । बेलायतको बेल्स, ब्रेकनमा यही असोज २४ गतेबाट सञ्चालन भएको सो प्रतियोगितामा नेपाली सैनिक टोलीले स्वर्ण पदक प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    उक्त अभ्यासमा सहभागी हुन नेपाली सेनाबाट प्रमुख सेनानी अशिमदेव गुरुङको नेतृत्वमा १० जनाको सैनिक टोली असोज ६ गते बेलायत प्रस्थान गरेको थियो । युद्धकालीन विशेष परिस्थितिको कल्पना गरी शत्रुपक्षको गतिविधिसमेत समेटेर सञ्चालन गरिने यस विश्वस्तरीय सैन्य अभ्यासमा सहभागी हुने टोलीको शारीरिक सहिष्णुता र पेशागत दक्षताको मूल्याङ्कन गरिन्छ ।

    अत्यन्त कठिन भौगोलिक इलाकामा सञ्चालन हुने यस अभ्यासमा सहभागीले दुई दिनभित्रमा हतियार तथा करीब ५० पाउण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्रीसहित लगभग ५० किलोमिटर दूरी पार गर्ने गर्छन् । सो क्रममा सहभागी टोलीको लडाइँको तयारी, नक्सा र कम्पासको भरमा उनीहरूले दिन र रातमा गर्ने निर्धारित स्थानसम्मको यात्रा, खबर सङ्कलन, घाईते–बिरामीको व्यवस्थापन, विष्फोटक पदार्थ पत्ता लगाउने क्षमतालगायत रसायनिक, जैविक र आणविक हतियार प्रहार भएको अवस्थामा अपनाउने सतर्कतासमेत विभिन्न दक्षताको परीक्षण गरिन्छ ।

    उक्त अभ्यासमा बेलायती फौजका १०६ र नेपालसमेत अन्य ३४ देशका गरी कूल १४० सैन्य टोलीको सहभागिता रहेको निर्देशनालयले जनाएको छ । नेपाली सेनाको प्रतिनिधित्व श्री विशेष फौज बाहिनी, श्री पशुपतिप्रसाद गण र गौरीबक्स गुल्मका टोलीले गरेको थियो ।

    प्रतियोगितामा नेपाली सेनाको पेशागत प्रतियोगिताको मर्यादाक्रमको आधारमा गण तथा गुल्मका फौज र बाहिनीबाट छानिएका व्यक्ति सम्मिलित टिम सहभागी हुने गर्दछन् । सन् १९६० बाट वार्षिकरुपमा बेलायतमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रियस्तरको यस्तो अभ्यास प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ बाट भाग लिँदै आइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij