बुटवल– गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा दुई दिने ‘दक्षिण एसियामा शान्ति र मेलमिलापका लागि धर्म र संस्कृतिको भूमिका’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन सुरू भएको हो।
लुम्बिनी विकास कोष, नेपाल सरकार र विनचेस्टर विश्वविद्यालय बेलायतको संयुक्त आयोजनामा सुरू भएको सम्मेलनमा १५ वटा मुलुकका २४ जना विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्दैछन्।
लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति केन्द्रको रूपमा विकास गर्ने उद्देश्य राखेर आयोजना गरिएको कार्यक्रममा बेलायत, क्यानडा, बंगलादेश, नेदरल्याण्ड, इन्डोनेसिया, श्रीलंका, भारत र नेपालका विज्ञहरू सहभागी रहेका छन्।
सम्मेलनमा विभिन्न मुलुकहरूले द्वन्द्वको अन्त्यका लागि गरेका प्रयास, धार्मिक तथा साम्प्रदायिक युद्धहरूको समाधानका उपाय लगायतका विषयमा छलफल हुनेछ।
सम्मेलनमा ‘शान्ति स्थापनामा बुद्धिजमको महत्व’ विषयमा केन्ट विश्वविद्यालयका प्रोफसर ह्युग मियल, ‘श्रीलंकामा युद्धपछिको धार्मिक कट्टरता’का विषयमा बेलायतका चास मोरिसन, ‘नेपालको धर्मनिरपेक्षता र दीगो धार्मिक सहिष्णुता’का विषयमा डाक्टर योगी सिंहनाथ लगायतले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ।
त्यस्तै, सहभोजले शान्ति स्थापनामा खेलेको भूमिका, नेपालको शान्ति र पुनर्मिलन लगायतका विषयमा पनि कार्यपत्र प्रस्तुत हुनेछ।
बुधबार लुम्बिनी घोषणापत्र जारी गर्दै सम्मेलन समापन हुने छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
