नेपालगञ्ज – बाँकेका दुई कर्मचारीलाई घुससहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
मङ्गलबार साँझ बाँकेका दुई सरकारी कार्यालयमा छापा मारेर रु ८७ हजार घुससहित दुई कर्मचारीलाई नेपालगञ्जस्थित आयोगको कार्यालयले नियन्त्रण लिएको हो ।
नेपालगञ्ज भन्सार कार्यालयका नायबसुब्बा लक्ष्मण चन्दलाई रु ५२ हजार र आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, बाँकेका कार्यालय प्रमुख तथा खाद्य अनुसन्धान अधिकृत विनोदकुमार श्रीवास्तवलाई रु ३५ हजार घुससहित रङ्गेहात नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
नेपालगञ्ज भन्सार कार्यालयका नासु चन्दले आयात हुने सामानको सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट रु ५२ हजार घुस लिएको अवस्थामा र आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, बाँकेका प्रमुख श्रीवास्तवले गुणस्तर प्रमाणीकरण गरिदिएवापत सेवाग्राहीको काम सम्पन्न भएपछि रु ३५ हजार घुस लिँदै गर्दा पक्राउ गरिएको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
