Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मिस तामाङको उपाधी कुसुमलाई


  • सोमबार, माघ १४ २०७५

  • मिस तामाङको उपाधी कुसुमलाई

    पोखरा–मिस तामाङ्ग पोखराको उपाधी बिरौटाका कुसुम तामाङले जितेकी छिन् । प्रमुख निर्णायक कलाकार तथा पाइलट विजय लामाले राष्ट्रिय गानको एक अंश ‘बहुल जाती भाषा धर्म संस्कृति छन् विशाल’ वाक्यंशले के पुष्टी गर्छ भन्ने प्रश्नको उत्तरले निर्णायकको मन जितेको थियो । विजेता कुसुमले बेस्ट पर्सनालिटी टाइटल पनि जितिन् । उनले नगद ५० हजार पुरस्कार, ताज, ट्रफी, प्रमाणपत्र प्राप्त गरेका छन् । उनले म्युजिक भिडियोमा अभिनयको अवसर पनि प्राप्त गर्नेछन । उनलाई प्रमुख निर्णायक लामाले पुरस्कृत गरेका थिए भने मिस तामाङ पोखराका २०१८ का विजेता कविता योञ्जनले क्राउन लगाइदिएका थिए । नालामुखका प्रिती तामाङ मिस कन्फिडेण्टको टाइटलसंगै फस्ट रनरअप भइन् । उनले नगद ३० हजार सहित ताज, ट्रफी, प्रमाणपत्र प्राप्त गरिन् । रामेछापका सजना वाइवा मिस ट्यालेण्टको टाइटलसंगै सेकेण्ड रनरअप बनिन् । उनले नगद २० हजार रुपैयाँ पुरस्कार, ताज, ट्रफी, प्रमाणपत्र हात पारिन । लामागाउँका श्वेता पाख्रिनले मिस पपुलरको टाइटलसंगै भ्युवर्स च्वाइस अवार्ड हात पारिन् । उनले नगद १५ हजारले पुरस्कार प्राप्त गरिन् ।
    यसैगरि बिरौटाका सुस्मा लोप्चान मिस कल्चर, बाटुलेचौरका सोफिया स्याङबो मिस पंक्च्युवल, काठमाण्डौका जेमिना घिसिङ मिस फ्रेण्ड्ली, घारीपाटनका रिस्ता घिसिङ मिस डिसिप्लिन, रत्नचोकका अमृता तामाङ मिस फोटोजेनिक, एयरपोर्टका अस्मिता तामाङ बेस्ट वक, काठमाण्डौका रिता लोप्चान बेस्ट स्माइल, लेकसाइडका मिनु थोकर बेस्ट पर्फमेन्स, पोखरा बुद्धचोकका सोनी तामाङ ब्युटी विथ पर्पोज, सृजनाचोकका आशा तामाङले बेस्ट हेयरको टाइटल जित्न सफल भइन । प्रतियोगितामा देशभरबाट तामाङ समुदायको १४ जना युवती सहभागी थिए ।
    बैदाम तामाङ समाज पोखराको आयोजनामा २८५५ औ सोनाम ल्होसारको अवसरमा आयोजित ल्होसार म्युजिकल फेस्टिभल तथा मिस तामाङ पोखराको निर्णायकहरुमा कलाकार तथा पाइलट विजय लामा, नेपालको पहिलो अन्र्तराष्ट्रिय मोडल कोरियोग्राफर तथा कलाकार प्रशान्त ताम्राकार, पोखरा विश्वविद्यालयका सह प्रशासकिय अधिकृत तथा पहिलो मिस पोखराका फस्ट रनरअप रजनी केसी, मिस तामाङ नेपालका संयोजक रञ्जिता लामा, गायक, संगीतकार श्यामसुङ तामाङ रहेका थिए ।
    समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक जयन्ती मोक्तानले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी अन्र्तराष्ट्रिय तामाङ परिषदका अध्यक्ष केएम तितुङ, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, नेपाल तामाङ घेदुङ गण्डकीका अध्यक्ष दिपक वाइवा, प्रमुख निणार्यक कलाकार तथा पाइलट विजय लामा, कलाकार प्रशान्त ताम्राकार लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सन्जय मल्ल, संस्थाका सचिव डोल्मा लामा, आश्मा तामाङ, राम लामाले गरेका थिए । कार्यक्रममा एस के डान्स स्कुलको सांस्कृतिक नृत्य तथा पहिलो नेपाल आइडल बुद्ध लामाले गायन प्रस्तुती राखेका थिए । कार्यक्रमबाट बचत रकम लेकसाइडमा समाजले निर्माण गरेको रिन्छिङ तोर्जेत तामाङ शान्ति गुम्बा सहयोगार्थ खर्च गरिने समाजका अध्यक्ष ज्याक तामाङले बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij