दिग्गज अभिनेता नाना
भारतीय चलचित्रका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। पाटेकरको बिहीबार बिहान गोवास्थित निवासमा कार्डियक अरेस्टका कारण निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
उनी निवासमा अचेत अवस्थामा भेटिएका थिए। त्यसपछि अस्पताल पुर्याइएका उनलाई चिकित्सकले करिब ४५ मिनेटसम्म सीपीआर दिएर बचाउने प्रयास गरेका थिए। तर, उपचारको प्रयास सफल हुन सकेन र बिहान करिब ५ः२० बजे उनलाई मृत घोषणा गरिएको थियो। मृत्युको कारणबारे पोस्टमार्टमलगायत प्रक्रिया अघि बढाइएको जनाइएको छ।
नाना पाटेकरको संक्षिप्त जीवनी
नाना पाटेकरको वास्तविक नाम विश्वनाथ पाटेकर हो। उनको जन्म १ जनवरी १९५१ मा महाराष्ट्रको मुरुडमा भएको थियो। उनले जे.जे. स्कुल अफ आर्टबाट शिक्षा हासिल गरेका थिए। सन् १९७८ मा आएको गमन चलचित्रबाट अभिनय यात्रा सुरु गरेका पाटेकरले हिन्दी र मराठी दुवै चलचित्रमा आफ्नो छुट्टै पहिचान बनाए।
सलाम बम्बे, परिन्दा, प्रहार, अंगार, तिरंगा, क्रान्तिवीर, खामोशी, अग्निसाक्षी र अब तक छप्पन लगायत चलचित्रमा उनले प्रभावशाली भूमिका निर्वाह गरेका थिए। क्रान्तिवीरका लागि उनले उत्कृष्ट अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेका थिए भने परिन्दा र अग्निसाक्षीका लागि पनि राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका थिए।
अभिनयसँगै पाटेकरले निर्देशनमा पनि काम गरेका थिए। सन् १९९१ मा उनले प्रहार : द फाइनल अट्याक निर्देशन गरेका थिए। चलचित्र क्षेत्रमा योगदानका लागि भारत सरकारले उनलाई सन् २०१३ मा पद्मश्रीबाट सम्मानित गरेको थियो।
करिब पाँच दशक लामो चलचित्र यात्रामा गम्भीर, विद्रोहीदेखि हास्यप्रधान चरित्रसम्म प्रभावशाली अभिनय गरेका पाटेकर भारतीय सिनेमा क्षेत्रमा आफ्नै शैली र दमदार संवाद प्रस्तुतिका लागि परिचित थिए। उनको निधनले हिन्दी तथा मराठी चलचित्र क्षेत्रमा ठूलो क्षति पुगेको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
