प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय अर्थतन्त्रलाई गतिशील बनाउन अग्रसरता देखाउनुभएको छ । प्रधानमन्त्री शाहले आज सिंहदरबारमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसंग छलफल गर्दै आगामी दिनमा मौद्रिक नीति मार्फत् आवश्यक सहजीकरण र लचकता अपनाउन सुझाव दिनुभएको छ । करिब एक घण्टा चलेको भेटमा उहाँले सरकार र केन्द्रीय बैंकको सहकार्यबाट मात्र आर्थिक आत्मविश्वास बढाउन सकिने स्पष्ट पार्नुभयो । भेटमा प्रधानमन्त्री शाहले सेयर बजारका लगानीकर्ताको मनोबल बढाउन मौद्रिक नीतिका सीमाहरू खुकुलो पार्न र बैंकको ब्याजदर एवं कर्जा सर्तहरूलाई उद्यममैत्री बनाउन आग्रह गर्नुभयो । साथै, उहाँले महिला र पिछडिएका क्षेत्रका उद्यमीहरूलाई कर्जा सहुलियतमा विशेष प्राथमिकता दिँदै अर्थतन्त्रको मूल प्रवाहमा ल्याउन मौद्रिक उपकरणहरू परिचालन गर्नुपर्नेमा जोड दिनुभयो ।
जवाफमा गभर्नर डा. विश्वनाथ पौडेलले मौद्रिक नीतिलाई थप अत्यन्त व्यावसायिक र लचिलो बनाउन राष्ट्र बैंक प्रतिबद्ध रहेको बताउनुभयो । अर्थतन्त्रलाई गति दिनु नै साझा लक्ष्य रहेको उल्लेख गर्दै उहाँले सेयर बजारका लगानीकर्तादेखि घरेलु उद्यमीसम्म कसैलाई पनि अप्ठ्यारो नपार्ने गरी नीतिगत रूपमा पूर्ण सहजीकरण गर्ने आश्वासन दिनुभयो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
