कविमित्र Chandrabir Tumbapo को निम्तोमा ‘डिग्री माइला’ चलचित्रको अग्रिम प्रदर्शन हेर्ने अवसर पाइयो ।
यौटा सानु कविताभित्रको गहन कथामा यसरी पनि त चलचित्र बनाउन सकिँदोरहेछ !
बजारिया हल्ला होला–नहोला ! सिनेमा चल्ला–नचल्ला ! तथापि, यौटा गतिलो चलचित्र तयार भएर आजबाट सिनेमा हलमा लाग्ने भएको छ ।
भव्य शुभकामना छ !
Shrawanदाइलाई यति सुन्दर कविताको लागि र चन्द्रवीरलाई सिनेमाको आर्ट डाइरेक्सनका लागि थप बधाई !
“डिग्री माइलाः अ सेल्फ पोट्रेट”
– श्रवण मुकारुङ
विश्व मानचित्रमा
हो कि हो कि जस्तो एउटा थोप्लो
अथवा
कुनै अल्छी लेखकले उसको डायरीको पानामा
वाक्य पूरा नगरी त्यत्तिकै तानेको धर्कोजस्तो
रिडिङ ग्लासबाट हेर्दा काँक्रोको बियाँ
अथवा
झुसिल्कीरोले खाइरहेको सुर्तीको पातजस्तो
जसलाई
असङ्ख्य विभेद कि रोग–भोकले
बाढी–पहिरो कि सुख्खा खडेरीले
सधैँ कुरूप बनाउँछ
तर, त्यही देशका जनता भन्छन्—
‘हाम्रो देश संसारकै सुन्दर देश हो ।’
जहाँका मानिस
एकअर्कालाई प्रेम गर्न लजाउँछन्
जहाँका मानिस
उन्मुक्त मानिस भएर जिउन डराउँछन्
जहाँ
कसैको आँखामा बस्नुभन्दा झर्नु सजिलो छ
जहाँ
बाँच्नुभन्दा मर्नु सजिलो छ ।
बुद्ध र बुद्धे दुवैले छाडेको
भृकुटी र सीता दुवैले त्यागेको
तर, बाटो नपाएर युगौँदेखि
शहीदहरूको ‘सह’ डुलिरहेको
सरकार भने आफैँ डिभी भरेर झुलिरहेको
यस्तो तथाकथित सुन्दर देशभित्र
दुर्घटनावश जन्मियो—
डिल्लीराम भुजेल उर्फ डिग्री माइला !
जस्तो कि
प्रथम महाप्रलय क्रेटासियसपछि
जन्मेको थियो हिमालय उर्फ सगरमाथा ।
संसारकै अग्लो शिखर भन्छन् सगरमाथालाई
अफसोस
हजारौँ पैतालाका डोब छन् उसको शिरमाथि
तब उसको उचाइको के अर्थ !
जसरी
आफ्नै सपना पछ्याउन नसकेर
चिलको छाया परेको सर्पझैँ
आफैँभित्र गुडुल्किरहेछ डिग्री माइला
तब उसको चेतनाको के अर्थ !
बस, यो तथाकथित देशमा
एउटा मणि— ढुङ्गा भएको छ
एउटा मानिस— डिग्री माइला भएको छ ।
००
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
